राजनैतिक प्रक्रियामा युवा सहभागिता

बसन्त जैशी

नेपालको कानुन अनुसार १६ वर्ष उमेर पुरा गरेका र ४० वर्ष ननाँघेका व्यक्तिलाई युवा भनिन्छ । त्यस्तै संयुक्त राष्ट्र संघको परिभाषामा १५ वर्ष देखि २४ वर्ष उमेर समुहका सबै व्यक्तिहरू युवा हुन् । नेपालको सन्दर्भमा युवालाई राष्ट्रका खम्बा, देश निर्माणका अगुवा, आदि नामले पनि गुणगान गाएको पाइन्छ । हरेक वर्ष पर्ने विशेष दिनमा युवाका अनेक आयामको चर्चा गर्दै उनिहरूको सवाल र सहभागितामा खुब जोड दिईन्छ । तर लिखित कार्यक्रम र व्यवहारिक अभ्यास बीच अझै पनि ठूलो अन्तर रहेको छ । यद्यपि त्यस सन्बन्धमा सार्थक कोसिस र अर्थपूर्ण प्रतिनिधित्वमा भने नेपालका राजनैतिक दलहरू विमुख देखिन्छन् । अर्को शब्दमा युवालाई नेपाली राजनैतिक नेत्रित्वले बलियो र स्थाई भर्याङको रूपमा अवलम्बन गर्दै आएको छ । यदि कुनै चेतनाले वा बाह्य प्रभावले युवा शक्ति (भर्याङ) हलचल हुनलागेमा साइबर सेना जस्ता अनेक पद सिर्जना गरेर युवालाई तल्ला तहमै थन्काउने कार्य हुने गरेको छ । यसमा राजनैतिक दलहरूले संघीयतालाई नियमित राहात प्याकेजको रूपमा प्रयोग गरिरहेका छन् । किनकि यसले केन्द्रमा नेतृत्वमाथो चाप कम गर्न वर्दानको भुमिका खेलेको छ ।

देशको मुल नितिका रूपमा लिईने राजनितिमा एकाद नयाँ सङ्गठन बाहेक कुनै पनि स्थानमा युवाको नेत्रित्व छैन । नयाँ राजनैतिक दलको जन्म हुँदा बाहेक युवा पुस्ताले दलको अध्यक्षता गर्ने कुरा कल्पना गर्न सकिँदैन । किनकि जुन सङ्गठन नयाँ दलको रूपमा उदय हुन्छ, त्यो दल पहिलो अध्यक्षसँगै बुढो हुन्छ र कहिल्यै तन्नेरि हुन सक्दैन । हालसम्म भएका सबै जसो आमुल परिवर्तनमा युवाको सहभागिता निकै सबल र सशक्त मानिन्छ । यस्तै निजामति, सुरक्षा, खेलकुद लगायतका क्षेत्रहरू युवा बिना खाली हुन्छन् । विकास निर्माण देखि क्रान्तिसम्म यिनैका बलमा गर्न सम्भव छ भनि स्विकार्ने राजनैतिक दलहरू नेत्रित्व दिन भने चाहाँदैनन् । विडम्बना, नेपाली युवाहरू भने ती नेता र दलहरूको लागि मर्न–मार्न तयार देखिन्छन् । यो अपरिपक्व र स्वार्थि युवा नेतृत्वको परिणाम हो । नेतृत्वले आफु मातहतको ठूलो युवा जमातलाई शक्ति प्रदर्शन र स्वार्थ केन्द्रित आन्दोलनका कार्यक्रममा खुलेर उपयोग गर्दै आएको छ । २०५२ अघि नै अध्यक्ष बनेका प्रचण्डको दल माओवादि केन्द्रमा नेतृत्व नै बदलिन सकेको छैन । यस्तै नेपालमा दर्ता राजनैतिक दलहरू मध्ये कसैले पनि युवालाई नेतृत्व दिएर आफुले मार्गदर्शनका लागि सहयोगि भुमीका खेलेको पाइँदैन । पुराना पार्टिहरू नेपाली काङ्ग्रेस, एमाले जस्ता दलहरूमा सपनामा पनि युवा नेतृत्व देखापरेको छैन । यसर्थमा नेपालका कुनै पनि दलहरूले राजनैतिक प्रक्रियामा “जसको सवाल उसकै नेतृत्व” भन्ने मर्मको ठिक विपरित अभ्यास गरिरहेका छन् । किन भने यहाँ पुरातन सोच र त्यसको उपज अङ्कुस लगाउन बनाइएका कानुनि प्रावधान हावि छन् । नतिजामा युवाको नेतृत्व पनि ४० कटेकाहरूले गरिरहेका छन् ।

देशको अधिकांश जनसङ्ख्या ओगटेको युवा वर्ग नेताको चाकरी र स्वार्थको हितमा सिमित छ । त्यसबाट बचेको सङ्ख्या वैदेशिक श्रम बजारमा आफ्नो पसिना कौडिको मूल्यमा बेचेर भएपनि आफ्नो परिवार तथा देशका लागि पैसाको जोहो गर्न केन्द्रित छ । चाकरि गर्ने र आफ्नो शक्ति देखाएर नेतृत्वको मन जित्न मात्रै युवालाई प्रेरित गर्ने गरिन्छ । अर्थात नेपाली युवाहरू राजनैतिक सहभागिताको नाममा एक अर्का बिरुद्ध लड्ने र अदुरदर्शि नेतृत्वकै भरणपोषणमा दत्तचित्त देखिन्छन् । यसको कारक युवा सङ्गठनको बर्तमान नेतृत्व हो । किनकि परिपक्व नेतृत्व निर्माणमा भुमिका खेल्नुको सट्टा युवा सङ्गठनहरूका मालिकहरू दलमा अर्को पद सुनिश्चित नहुञ्जेलसम्म तेहि पदबाटै आर्यघाट जान चाहान्छन् ।

नेपालमा युवा सहभागिता दुइ ठाउँमा देख्न सकिन्छ; पहिलो वैदेशिक श्रम बजारमा र दोस्रो दलहरूको शक्ति प्रदर्शनका लागि । बाँचुञ्जेल उच्च पदमा रहिरहनुपर्छ भन्ने खराब मान्यता नेतृत्वले अङ्गाल्दा त्यसको प्रतिफल युवाहरूमा देखिनु स्वभाविकै हो । तर त्यसले पार्ने नकारात्मक प्रभाव झनै खतरनाक देखिन्छ । २०७३ मा भएको त्रि.वि. को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहदका कारण आफुले नेतृत्व नपाउने देखेपछि केहि व्यक्तिहरूको निजि स्वार्थले केन्द्रीय क्याम्पस लगायत क्याम्पसहरूमा निर्वाचन नै हुन सकेन । हाल काङ्ग्रेसको महादिवेशन पनि पाको पुस्ताबाट नेतृत्व खोसिने होकि भन्ने चिन्ताले ब्याकुल छ । ने.क.पा. एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफु ७० वर्ष पुगेपछि नेतृत्वमा रहिरहन ७० वर्षीय अनिवार्य उमेरहद संशोधनको लागि विधान अधिवेशन गर्न लागेको बताइन्छ । हुन त प्रजातन्त्रका मालिक देखि गणतन्त्रका कथित प्रवर्तकसम्म कसैले युवाका लागि आफ्नो कुर्सि खालि गर्न सकेका छैनन् । आफ्नो अनुकुल परिचालन गर्न र युवाले गरेका असल कामको जस लिने हेतुले युवाको पक्षमा चिच्याउन पनि छोडेका छैनन् । यसर्थमा देश विकासका खम्बा मानिने युवालाई स्वस्थ प्रतिस्पर्धाको आधारमा हरेक क्षेत्रमा उचित सहभागिताको अवसर प्रदान गर्नु हालको आवश्यकता हो । दलहरूले कार्यकर्ताहरूलाई तरुणदल, वाइसिएल र युथफोर्स जस्ता स्थानमा नेतृत्व सिकाउनु पर्छ तर अलमलाउने निति त्याग्नुको विकल्प छैन ।

राज्यमा हुने हरेक सामाजिक र कानुनि परिवर्तन राजनैतिक इच्छाबाट निर्देशित हुन्छ । यसर्थमा युवाका लागि गरिएका कानुनि व्यवस्थाको श्रेय पनि राजनैतिक दल र त्यसको नेतृत्वलाई जान्छ । युवा दिवसमा राज्यको साँचो थमाएझैँ गरी युवाका सवालहरू उठाइन्छ । युवा सहभागिताको प्रत्याभुति गरेको भनि भाषण गर्ने दलहरूको सहमतिमा बनाइएका कानुनमा भने अङ्कुसको कमि छैन । कानुनले पनि नछेके बरिस्टताको अस्त्रले कतिपय युवाहरूलाई नेतृत्वको पंतिबाट अलग गरिन्छ । यदि त्यो पनि अपर्याप्त भएमा भने अरूबाट परिचालित भएको आरोपमा युवाको दलीय धरातल कमजोर बनाउने र आफ्नै पछि कुधाइरहने प्रवृति सबै जसो दलका शिर्ष नेतामा विद्यमान छ ।

नेपालको संविधान २०७२ अनुसार मतदान गर्न १८ वर्ष पुगेको हुनुपर्छ । यस्तै गाउँ तथा नगर सभाको उमेद्वार बन्न कम्तिमा २१ वर्ष र सांसद बन्न २५ वर्ष उमेर पुग्नुपर्ने कानुनि व्यवस्था छ । तेति मात्र नभई राष्ट्रिय सभाको सदस्य बन्न कम्तिमा ३५ वर्ष र राष्ट्रपति लगायत संवैधानिक आयोगहरूमा काम गर्न कम्तिमा ४५ वर्ष पुरा भएको हुनुपर्छ । यस प्रकार नेपालमा राष्ट्रपति, संवैधानिक आयोगको सदस्य र राज्यका माथिल्ला श्रेणिमा काम गर्न युवाहरू पाउँदैनन् । सरकार प्रमुख प्रधान मन्त्री रहने हाम्रो देशमा प्रधान मन्त्रि बन्न कम्तिमा प्रतिनिधि सभाको सांसद, सम्बन्धित दलको अध्यक्ष, संसदीय दलको नेता र संसदका सदस्यहरूको बहुमत प्राप्त गर्नुपर्छ । यसरी चार ओटा तह पार गर्दा कुनै पनि व्यक्तिलाई युवा अवस्थामा शत प्रतिशत अवसरबाट बञ्चित हुनुपर्ने बाध्यता छ । किनकि दलको अध्यक्ष हुन कम्तिमा ५० कटेको हुनुपर्यो; हडपेर बस्न सक्ने तागत अनि जिन्दावाद भन्नेको जमात पनि चाहियो । अर्कोतिर १८ वर्ष देखि नै कुनै दलको पछि लागेपनि चाकरी नपुग्दा समय मात्रै खेर जाने सम्भावना पनि रहन्छ । सांसद जित्न २५ वर्षको उमेर कुर्ने र त्यसपछि दलका हरेक गतिविधिको सतर्कतापूर्वक उग्र बचाऊमा उत्रिएन भने तेहि स्थानबाट खेल सकिन्छ । पाको पुस्ता पनि सैद्दान्तिक विचलनका कारण समुहमा विभाजित हुनेहुँदा युवाका लागि अर्को काम पनि थपिन्छ । आफ्नो बाटो छेक्नेको खुट्टा तान्ने, आवश्यक पर्दा छिमेकि र दाजुभाइसँग पानी बाराबार गर्ने तथा शिर्ष नेताको मन जित्ने गरी उनिहरूकै ओरिपरि घुमिरहनु वास्तवमै चुनौतिपूर्ण काम हो । त्यसमा पनि आफ्नो प्यानल कमजोर परेमा खेल सेमिफाइनलमै टुङ्गिन सक्छ । यति लामो सङ्घर्ष गर्दा युवाहरू उत्तरवयस्क अवस्थामा प्रवेश गर्दछन् । यस्तो कठिन र भाग्यमानि बाटोबाट अगाडि बढेपछि मात्रै “म दलको अध्यक्षमा उठ्छु” भन्ने वाक्य उच्चारण गर्न पाइन्छ । अतः नेपालमा युवाको राजनैतिक सहभागिता बारे मौखिक रूपमा जतिसुकै शब्दजाल बुनेर प्रस्तुत गरेपनि व्यवहारमा युवा छान्ने फिल्टर उत्तरवयस्क भन्दा कम उमेरकालाई छिर्न नदिने संयन्त्रको रूपमा काम गरिरहेको छ । आफु सत्तामा पुग्दा यिनै युवाहरू हिजोका दिनमा हाम्रै कारण सडकमा थिए भन्ने कुरा विर्सिनाले युवाको भावना र योगदानको ठूलो अवमूल्यन भएको छ ।

जहानीया राणा साशन सकिएको सात दशक र लोकतान्त्रिक गणतन्त्र आएको पनि १३ वर्ष भन्दा बढि भएको छ । यस १३ वर्षको बीचमा आधा दर्जन प्रधान मन्त्रीका अनुहार देखिए । तर ती मध्य कोहि पनि ५० वर्ष उमेर भन्दा कम समुहका छैनन् । हाल संघीय संसदमा १३%, प्रदेश सभामा २३% र स्थानीय तह मार्फत ३९% युवाहरू मात्र निति निर्माण र राज्य सञ्चालनका निकायमा पुगेका छन् । संघको तुलनामा स्थानीय निकायमा प्रतिनिधित्व सन्तोसजनक मानिएपनि देशको कुल जनसङ्ख्याको ४०% बढि स्थान ओगटेको वर्गको औशत प्रतिनिधित्व करिब २५% मात्रै देखिन्छ । यसले पनि पुस्टि हुन्छकि, नेपालमा युवाको राजनितिमा सहभागिता “हात्तिका देखाउने दाँत” जस्तै छ । सोझो भाषामा उल्लेख गर्दा नेपालमा राजनैतिक दलका नेतृत्वबाट युवालाई विभिन्न आसा देखाएर आफ्नो शक्ति आर्जन गर्ने हतियारको रुपमा व्यवहार गर्ने गरिएको पाइन्छ ।

युवाहरू हरेक पक्षमा आसातित परिवर्तनका सम्वाहक हुन् । त्यसैले उनिहरूमा भएको परिकल्पनालाई शाकार पार्ने अवसर प्रदान गर्नु युवा सङ्गठनको नेतृत्व गरेकाहरूको परम कर्तव्य हो । राजनैतिक दलका वृद्ध नेताहरूले आफ्नो विकल्पमा उनिहरूलाई उचित व्यवस्थापन गर्ने हो भने नविन चेतना सहित सक्षम र प्रगतिशिल नेतृत्व प्रदान गर्न पनि सक्छन् । त्यसैले “एक पद एक व्यक्ति” को कुरालाई दलगत विधान मार्फत सङ्गठनमा कार्यान्वयन गर्नुपर्छ । देशको कार्यकारि पदमा पनि एकै व्यक्तिलाई दोहोर्याइरहने हो भने युवामा राष्ट्रियताको भावना कमजोर बन्न सक्ने तर्फ सबै राजनैतिक दलहरूको ध्यान जानुपर्दछ । हाल विद्यमान कानुनि प्रावधानलाई युवा मैत्री बनाउँदै सामाजिक पुरातन सोच पनि त्याग्नु जरुरि छ । युवा सङ्गठनको नेतृत्व गरिरहेकाहरूले आफ्नो कार्यकाल पछि अरूलाई परिपक्व नेतृत्व गर्न सघाउनुपर्छ । यो नै सहि अर्थमा युवाको राजनैतिक कदर र सहभागितामा आधारित युवा जागरण हो ।

हरेक राजनैतिक नेताले आफ्नो विकल्प पनि तयार पार्दै जाने र आफु बाहेक विकल्प कोहि छैन भन्ने सोच त्यागेर अघि बढ्नु आजको महत्वपूर्ण आवश्यकता हो । राजनैतिक बाहेक अन्य क्षेत्रमा युवाले अवसर पाएकै कारण आज उनिहरू सक्षम भएका हुन् भन्ने सत्यलाई मनन गर्दै उचित राजनैतिक प्रतिनिधित्व गराउन दलहरूले अब चुक्नु हुँदैन । नत्र भने यस पछिको पुस्ता पनि आफ्नो बाहेक विकल्प नसोचि आउने छ र त्यसले राजनैतिक गतिविधिलाई आजको जस्तै अन्योलमय बनाइरहनेछ । तसर्थ अर्थपूर्ण राजनैतिक सहभागिता मार्फत युवा प्रतिनिधित्वको अभ्यास गर्ने र भावि समयका लागि कुशल नेतृत्व तयार गर्ने काममा युवालाई पर्याप्त भुमिका दिईनुपर्दछ ।


लेख विक्रम संवत २०७८ साल श्रावण २७ गते बुधबारको साझा बिसौनी दैनिकको अङ्कमा र सोहि दिनको बिहान ५ बजे साझा बिसौनी दैनिकको अनलाइनमा प्रकाशित छ ।

Comments