बाल अधिकार र अभिभावकत्व

बाल अधिकार सम्बन्धि महासन्धि (Convention on the Rights of the Child, 1989) अनुसार १८ वर्ष मुनिका व्यक्तिहरूलाइ बालबालिका भनिन्छ । नेपालको कानुन अनुसार जन्मदेखि १६ वर्ष सम्मका व्यक्तिहरूलाइ बालबालिका भनिन्छ । यद्यपि १८ वर्ष मुनिकालाई बालिग मानिएको छैन । सारमा बुझ्दा जन्म देखि वयस्क अवस्था प्रवेश नगरुञ्जेलको अवधि नै बाल अवस्था हो ।

बाल अधिकार वकालतको सुरुवात एक बेलायति फोटो पत्रकार एग्लानटाइन जेबले गरेकि थिईन् । सन् १९२४ मा उनले बाल अधिकारको मस्यौदा पत्र तयार गरिन् जसलाई लिगअफ नेसनको जेनेभा बाल अधिकार घोषणापत्र (१९२४) भनि चिनिन्छ । १९१९ मा गठित लिग अफ नेसनले पाँच वर्ष पछि पारित गरेको उक्त बाल अधिकार घोषणापत्रले बाल अधिकार स्थापनाको जग बसाएको मानिन्छ । यसै कारण पनि प्रथम विस्व युद्ध (२०१४-२०१८) पछि सन १९२३ मा बेलायतबाट बाल अधिकार जुर्मुराएको भन्न सकिन्छ । नेपालमा भने तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवि शाहले आफ्नो जन्मदिनको अवसर पारेर भारतको सिको गरी २०२१ भाद्र चार गते देखि समाज सेवाको नाममा बाल दिवस मनाउने कार्य सुरु गरेकि थिईन् । तर २०६३ देखि भने नेपालले बाल अधिकार सम्बन्धी महासन्धि (२० नोभेम्बर, १९८९) पारित गरेको दिन अर्थात १४ सेप्टेम्बर (भाद्र २९) लाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन सुरु गरिएको हो ।

१९२३ लाई आधार मानेर हिसाब गर्दा ९७ वर्ष लामो समय इतिहासमा कैद भईसकेको छ । यस अवधिमा विस्वमा भएका ठुला चमत्कारिक परिवर्तनले विस्व धेरै अगाडि बढिसकेको देखिन्छ । भविष्यको मेरुदण्डको रुपमा परिभाषित गरिने बालबालिकाको अनिवार्य आवसेकता तथा भोलिको निमित्त तयार हुने आधार खोज्ने हो भने गणितीय शाक्षरता र सङ्ख्यातमक दस्तावेजका प्रतिवेदन बाहेक खासै उल्लेखनिय पक्ष भेटिदैनन् । बालबालिकाको पहिलो र महत्वपुर्ण संरक्षण ग्रिह घर र अविभावकहरू हुन् । तिनिहरूको अभावमा बालबालिकामा बिभिन्न जोखिमहरूमोल्नुपर्ने, अनावसेक यातना र श्रम सोषणमा पर्ने, चोरि तथा डकैति गर्ने, आर्थिक प्रलोभनमा परेर बेचबिखन हुने, यौन दुर्वेसनिमा लाग्ने, गम्बिर किसिमका अपराधहरूमा सम्लग्न हुने, कतिपय गलत निर्णयको कारण जीवन थप कस्टकर हुन सक्ने, आदि समस्याहरू देखिन्छन । प्रविधिमा आएका नाटकीय परिवर्तनहरूले अविभावक र केटाकेटिको दुरि तुलनात्मक रुपमा बढेको प्रष्ट महसुस गर्न सकिन्छ । पहिले बालबालिकालाइ रोए वा फकाउन खेलौना दिईन्थ्यो तर हिजो आज बच्चाले केहि कुरा नमान्ने हो भने फकाउने सजिलो तरिका मोबाइल फोन, टेलिभिजनमा कार्टुन र सम्भव भएसम्म पैसा अनि बजारको बच्चाहरूलाई मनपर्ने खानाको प्रयोग गरिन्छ । हामि राम्रो या नराम्रो केहि पनि नसोचि गर्ने यस्ता कार्यले बालबालिकालाइ हिजो आज सिर्जनात्मक तथा नैतिकवानको सट्टा केहि कठोर बनाउदै गएको देखिन्छ । भनिन्छ, “जस्तो व्यवहार चाहानुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस्” । यद्यपि केटाकेटि फकाउने सवालमा यो कथन अव्यवहारिक मात्र होइन अविसाप नै सावित हुन सक्छ । आफ्नो बच्चा फकिन नमानि झिजो गरेपछि अभिभावकहरू अनेक उपाय लगाउँछन् । तर केहि नलागेपछि अन्तमा चाउचाउ वा यस्तै खाने कुरा किन्नको लागि पैसा दिएपछि मात्र बच्चा फकिन्छ । परिणाम स्वरूप केहि अभिभावकहरू यसलाई बच्चालाई मनाउने सहि सुत्रको रूपमा अवलम्बन गर्दछन् । यद्यपि उनिहरूले आफ्नो सन्तानको स्वास्थ्यमा मडारिएको कालो बादलको सुरुवाति रूप पहिचान गर्न र रचनात्मक भूमिका खेल्न सकेका छैनन् । यस प्रकार बाल अधिकार अभिभावकमाथिको बाल नियन्त्रणमा रुपान्तर हुँदै गएको देखिन्छ ।

बजारका तयारि खानेकुरा खानथालेपछि घरमा बनेको खाना बच्चाले नरुचाउन सक्छन् । यस्तो हुनुको पछाडि प्राकृतिक भन्दा किर्तिम उत्प्रेरक बढि प्रभावकारि र छिटो काम गर्नुलाई मानिएको छ । यसैको परिणाम स्वरुप बालबालिकाहरू कुपोषण तथा जण्डिस लगायतका रोगको सिकार हुने सम्भावना व्यापक रहन्छ । त्यसैगरी आफुले बच्चा फकाउन किनेको थोरै खानेकुराको भुक्तानि अभिभावकहरूलाई समेत आजीवन पछुतोको रूपमा गर्नुपर्ने हुन सक्छ । एकातिर स्वास्थ्यका लागि सर्वोत्तम चिजको ख्याल नगर्ने र अर्कोतिर बाल चरित्र टार्न खोज्ने बानिले दोहोरो खर्चको वृद्धि हुने तर्फ सबै आमा बाबुहरू र बाल संरक्षकहरू सचेत रहनुपर्छ ।

हाम्रो सानो लापर्वाहिलाइ समयमा नियन्त्रण गर्न सकिएन भने “बाह्र छोरा तेर नाति, बुढाको धोक्रो कानै माथि” भन्ने उखान चरितार्थ नहोला भन्ने आधार छैन । अविभावक संगै हुनु, पर्याप्त स्याहारको व्यवस्था हुनु, आवसेक सबै वातावरण हुदा पनि बच्चाको चिन्ताले आफुलाइ पनि सन्तोसको आभास नहुने र बच्चा पनि निरोगि नहुने परिस्थितिको सिर्जना हुन कुनै आइतबार लाग्दैन । त्यसैले आमा र बुबाको कर्तव्य छोरा र छोरिलाइ खुसि पार्ने मात्र होइन; उनिहरूलाई निरोगि तथा स्वस्थ राख्न उचित व्यवहारको साथ सन्तुलित तथा रचनात्मक नियन्त्रण गर्नु पनि  हो । नैतिक र गुणस्तरिय शिक्षा दिन पनि तेत्तिकै आवश्यक छ जुन आजको प्रमुख चुनौतिको रूपमा देखापरेको छ । यसर्थमा हाम्रा आनिबानि र अन्य गतिविधिहरूबाट बालबालिकामा पर्न सक्ने दिर्घकालिन नकारात्मक असर प्रति सबै अभिभावकहरू सचेत र सजग हुनु पर्दछ । कालान्तरमा यहि नै विपतमा बाल अधिकार सुनिश्चितताको साझा र सहि प्रतिबद्धता हुन सक्छ ।

अभिभावकहरू आफ्ना बालबालिकालाई आफ्नो आदेश पालना गरेको हेर्न चाहान्छन् । तर बालबालिकालाई विभिन्न स-साना काममा लगाउँदा बाल मस्तिष्कमा पर्ने सकारात्मक र नकारात्मक प्रभाव बारे अभिभावक खासै सचेत भएको पाइँदैन । फलस्वरूप आफ्ना नानिहरूलाई धुम्पान तथा मधिराजन्य पदार्थ किनमेलमा लगाउने, उनिहरूको अघि धुम्पान तथा मधिराको सेवन गर्ने, सिकाइको नाममा गृहकार्यमा बढि जोड दिने, आदि कुराहरू प्रसस्त पुनरावृति भईरहेका छन् । यसका पछाडि राज्यले अङ्गालेको “शिक्षा नै बाल अधिकार” भन्ने नाराले अभिप्रेरित गरेको देखिन्छ । कुन कुराले कस्तो सिकाई हुन्छ भन्ने ज्ञानको अभावमा आफ्ना नानिहरूलाई अभिभावकहरूले कहिलेकाहिँ मनोमानि गर्न दिने त कहिले गैरप्रजातान्द्रिक ढाँचामा नियन्त्रण गरिरहेको पाइन्छ । बालबालिकामा सकारात्मक प्रभाव छोड्नु भनेको उनिहरूको जीवनमा त्यसको छाप पार्नु हो । त्यसैले हामिले काचो माटो मुछ्दा जति सतर्कता अपनाउछौँ तेतिनै सतर्कता कलिला बालबालिकाको भविष्य निर्माणमा पनि अपनाउनु पर्छ ।

नेपालमा कतिलाइ राम्ररि खान पनि पुग्दैन । जनताहरू, जो गरिबिको चरम खाडलमा परेका छन्, त्यहा समस्याको चाङ अझ भयानक छ । ति मध्ये पांच सयको श्रमलाइ दुइ सयमा बेच्दा पनि काम नपाएको पिडा, चुहिने र हावा लाग्दा उडाउने छाना मुनिको बास बस्नुको बाध्यता, बढ्दो बाल हिंसाको त्रास, प्रकृतिको हातमा रहेको अनिस्चित मृत्यु, मानवताले लाग्ने ममताको पासो, बाढि पहिरोबाट भएको क्षतिको पिडा, सबै यसै बस्ति भित्र अटाएका छन । हाल महामारिको रूपमा देखिएको कोभिड-१९ भाइरस यस प्रकारका गरिबहरूको समुदायमा प्रवेश गरे हुने बाल मृत्युको क्षति बेहोर्न तिनका अभिभावकहरू तयार छैनन् जुन अझै राज्यले महसुस गरिसकेको छैन । भुपि सेर्चनले उनको कविता ‘मेरो चोक’ मा भनेकाछन्, “मेरो सानो गल्लिमा एउटा चोक छ; त्यहां भोक, रोग र अनिकाल सबै थोक छ” । अहिलेसम्म यस्तो सुन्दर र सबै चिजले सम्वृद्ध बस्तिमा देशका बागडोरेहरूको नजर झुक्किएर पनि परेको छैन । त्यसैले होला ति ठाउहरू चर्चित छैनन । त्याहांका चुलामा आगो पनि सानो र थोरै समय बल्छ 

यस प्रकारका गाउँ बस्तिको कथा बाँझिएको छ खोट नदेखिने महिनौ लगाएर तयार पारिएको यस वर्षको बाल दिवसको नाराविपतमा बाल अधिकारको सुनिश्चितता: हामि सबैको साझा प्रतिबद्धता” सँग । किनकि त्यहाँ राज्यको भौतिक नजर समेत राम्ररी पर्दैन । यसैकारण अङ्क गणितीय र ज्यामितीय ज्ञानको ज्योति निकै कमजोर छ । नतिजामा ती बस्तिमा सुमधुर खुसिको संगित अझैसम्म गुञ्जिन सकेको छैन । यसर्थ वर्षमा एक पटक त्यो पनि सजिएका हल तथा प्राङ्गणमा जतिसुकै सव्य र भव्य समारोहमा जे कुरा गरेपनि राज्यले दिनुपर्ने वास्तविक अधिकार सुविधाबाट बञ्चित बालबालिकाहरूको जीवनमा खासै फरक परेको छैन । राज्यको लाखौँ खर्चमा मनाइने यस प्रकारका दिवसहरूमा वास्तविक समुहको उपस्थिति खासै ख्याल गरिदैन बरु अन्तराष्ट्रिय समुदायलाई नेपालले दिवस मनाएको प्रभावकारी सन्देश दिन खोजिन्छ ।

सबै बालबालिकाका लागि बचाऊ, विकास, संरक्षण र सहभागितामा गुणस्तरीय सुनिश्चितता प्रदान गर्न सकेमा मात्र राज्यको चौतर्फि विकास हुन्छ । नेपालको संविधान २०७२ को धारा ३९ (९) ले असाहाय, अनाथ, द्वन्दपिडित र जोखिममा रहेका बालबालिकालाइ राज्यबाट विशेष सुविधा र संरक्षणको हक सुनिश्चित गरेको छ । विडम्बना राम्रो कानुनि व्यवस्थाका वावजुत

बालबालिकाहरू कुपोषण,  कुलत र दुर्वेसन, श्रम सोषण, वेचबिखन, आदि समस्याहरूसँग जुधिरहेका छन् । विभिन्न कारणहरूले सडकमा आउने बालबालिकाको सङ्ख्या प्रति दिन बढ्दो क्रममा छ । देशका खम्बा भनिनेहरूको सङ्ख्या माग्दै हिडेमा देशको भविष्य कस्तो होला भन्ने कुरा सहजै कल्पना गर्न सकिन्छ 

त्यसैले सार्थक रुपमा नारा लाउने हो भने पहिले सडकमा बस्नेहरूको पालमा, पालमा बस्नेहरूको घर वा छानोमा र अब जन्मिने बालबालिकाहरूको पालनपोषनको जिम्मेवारि अविभावकको सहयोगमा राज्यले लिनसक्नुपर्छ । आफैले बनाएको नियम कार्यन्वयन गर्न नसक्नु राज्यको स्पष्ट नामर्दपन हो । सबैका लागि गुणस्तरीय शिक्षाका नारा लगाएपनि कर्णाली प्रदेशको शाक्षरता प्रतिशत करिब ६० मात्र रहेको तथ्याङ्क सार्वजनिक भएको छ । वर्ष २०७७ को बाल दिवस पनि “विपतमा बाल अधिकारको सुनिश्चितता: हामि सबैको साझा प्रतिबद्धता” नाराको ब्यानरमा मनाइँदैछ । बाल अधिकार सुनिश्चितताका लागि नागरिकले नारामा झैँ मन, वचन र कर्मले विपतमा बालबालिकाको सर्वोत्तम हितका  चार आधारभूत पक्षहरू; बाल बचाऊ, बाल विकास, बाल सहभागिता र बाल संरक्षणलाई जोड दिनु पर्छ । यहि नै सबै बालबालिकाको अधिकारका लागि अर्थपूर्ण हुन्छ ।


-यो लेख विक्रम संवत २०७७ भदौ २९ गते सोमबारको साझा बिसौनी दैनिकको अङ्क र सोहि बिहानको ६:१ बजे साझा बिसौनी डटकमको अनलाइन संस्करणमा प्रकाशित छ ।

Comments