विश्व कपको बाटोमा नेपाल
विगतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को विश्वकपको छनौटको विषयलाई लिएर केही आलोचना समेत भएको थियो । यसमा तल्लो क्रममा रहेका देशहरूलाई मौका नै नदिइएको तथा क्रिकेटमा बलिया राष्ट्रको सिन्डिकेट रहेको भनि टिकाटिप्पणी भएको पाइन्छ । सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्व कप छनौटका लागि आइसीसीले केही सुधारिएका प्रक्रियाहरू कार्यान्वयनमा ल्यायो, जसले कम्तीमा पहिलो वरीयता क्रमदेखि ३२औँ वरीयतामा रहेका राष्ट्रहरूको लागि विश्वकपको ढोका खुल्ला भयो । हालको छनौट प्रक्रियाले टेस्ट मान्यता देशले पनि लिग–२ खेल्नुपर्ने हुन सक्छ र एक दिवसीय मान्यतासमेत नपाएको राष्ट्रले पनि विश्वकप खेल्न सक्छ भन्ने सुनिश्चित गरेको छ । यस लेखमा विश्वकप २०२३ मा खेल्ने दश राष्ट्रहरू कसरी छनौट हुन्छन् र नेपालको अवस्था के कस्तो छ भन्ने बारे सरल भाषामा उल्लेख गरिन्छ ।
छनौटका पाँच चरण
यो पटक आइसीसीले छनौटको केही अलग तरिका अपनाएको छ । जसमा तीन वटा लिगहरू मार्फत वरियतामा पहिलोदेखि ३२ नम्बरमा रहेका देशहरूले प्रतिस्पर्धा गरी विश्वकप खेल्न सक्छन् । तर तुलनात्मक रूपमा तल्लो क्रममा रहेका राष्ट्रहरूलाई केही कठिन भने छ । जस्तो कि सुपरलिगको तुलनामा लिग खेल्नेलाई र लिगको तुलनामा च्यालेन्ज लिग खेल्नेलाई बढी कठिन देखिन्छ । किनकि जति तल गयो त्यति नै कम खेलहरू खेल्ने अवसर पाउँछन् । तल्लो क्रममा रहेकाले धेरै खुट्किला पनि पार गर्नुपर्छ । उदाहारणका लागि सुपर लिग खेलमा एक चरणको छनौटमा राम्रो नतिजा निकाले पुग्छ र उक्त समूहका आधाभन्दा धेरै सोझै विश्वकपका लागि छनौट हुन्छन् । तर २१–३२आँै वरियताका राष्ट्रहरूले अन्तिम छनौट चरण खेल्न कम्तीमा दुई वटा खुट्किलामा बलिया राष्ट्रहरूलाई पराजित गर्दै शीर्ष २ मा रहेर क्वालिफाएरमा पुग्नुपर्ने हुन्छ ।
विद्यमान ढाँचाअनुसार छनौट प्रक्रिया सुरु हुँदा सुपर लिगमा १ देखि १३औँ वरियतामा रहेका १२ ओटा पूर्ण सदस्य÷टेस्ट मान्यता पाएका राष्ट्रहरू र नेदरल्याण्डलाई राखियो । यस्तै १४–२० सम्म रहेका एक दिवसीय मान्यता पाएका एसोसिएट राष्ट्रहरूलाई लिग–२ मा राखियो । क्रिकेटको आधारभूत भौतिक र अन्य पूर्वाधारसम्बन्धी आइसीसीको मापदण्ड पूरा गरेका र २१–३२औँ वरियतामा रहेका राष्ट्रहरूलाई च्यालेन्ज लिगमा राखियो । यस प्रकार सन् २०२३ को एक दिवसीय विश्वकपको लागि कूल ३२ ओटा राष्ट्रहरूले भाग लिएका छन् ।
सुपरलिगबाट आठ राष्ट्र सिधै छनौट
सबैभन्दा माथि सुपर लिगका देशहरू छन् । यसमा आयोजक भारत स्वतः छनौट भएको छ भने यस समूहमा १ देखि १३औँ वरियतामा रहेका देशहरू छन् । यस सुपर लिगबाट १३ मध्ये आयोजकसहित आठ देशले विश्वकपको टिकट काट्नेछन् । त्यसका लागि उनीहरूलाई निश्चित समयमा निश्चित म्याचहरू आइसीसीले खेलाइरहेको छ । यसमा १ देखि आठौँ नम्बरमा परेकाहरू सिधै विश्वकपमा जान्छन् । तर भारत भने आठमा नपरेमा पनि जान्छ । यसो भएमा बाँकी सात देशहरू छनौट हुन्छन्, यो सुपर लिगबाट । अर्थात् सुपरलिगका देशका लागि विश्वकपको टिकट एक पाइला मात्रै अगाडि हुन्छ । उनीहरूले एउटा लिगमा मात्रै राम्रो गर्न सकेमा सहजै विश्वकप खेल्छन् । किनकि यसमा रहेका १३ मध्ये ८ राष्ट्रले त जसरी पनि विश्वकपमा स्थान बनाउँछन् । अहिले आठ टिम मध्ये सात छनौट भइसकेका छन् । अब सुपरलिगबाट वेस्ट इन्डिज, दक्षिण अफ्रिका, आएरल्याण्ड र श्रीलङ्का मध्ये एउटा देश छनौट हुने पक्का जस्तै छ । सुपरलिग चरणमा स्लो ओभर गरेको अवस्थामा सजायको समेत व्यवस्था छ ।
माथिको कुराबाट यो स्पष्ट हुन्छ कि, यसपालिको विश्वकप २०२३ मा जम्मा १० राष्ट्रहरू खेल्ने छन् । ती मध्ये सुपरलिगबाट सात र आयोजक भारत गरी आठ ओटा छनौट हुन्छन् । बाँकी दुई वटा छनौट हुने प्रक्रिया अलि लामो छ । किनकि यसमा च्यालेन्ज लिग र लिग–२ मा राम्रो गर्नेले मात्रै स्थान बनाउँदैनन्, सुपरलिगबाट छनौट हुन नसकेकाहरू पनि मौका पाउँछन् । यसर्थमा सुपरलिगका राष्ट्रलाई दुई वटा र च्यालेन्ज तथा लिग–२ का देशलाई एक मात्र मौका दिइएको छ विश्वकपमा छानिन् ।
सन् २०१९ देखि सन् २०२२ सेप्टेम्बरसम्ममा एक दिवसीय मान्यता नपाएका तर क्रिकेटको भौतिक पूर्वाधार तयार गरेका राष्ट्ररहरूमध्ये १२ वटालाई समेटेर च्यालेन्ज लिग खेलाइएको थियो । उक्त लिगलाई दुई समूहमा विभाजन गरेर हरेक टिमले तीन वर्षको अवधिमा १५–१५ खेल खेले । दुवै समूहका शीर्ष एक–एक टोली आइसीसी क्वालिफाएर प्ले–अफ खेल्न छनौट भएका छन् । यदि ती राष्ट्रले राम्रो प्रदर्शन गरे र क्वालिफाएर प्ले–अफको शीर्ष ४ मा परेको अवस्थामा उनीहरूले एक दिवसीय मान्यता पाउनेछन् । यस पटक च्यालेन्ज लिगबाट क्यानडा र जर्सी छनौट भएका छन् ।
आइसीसी लिग–२ (२०१९–२०२३)
यसमा छनौट सुरु हुँदाको बखतमा एकदिवसीय मान्यता पाएका १४ देखि २० वरियताका नेपाल सहित सात देश छन् । जसमध्ये स्कटल्याण्ड, ओमान, अमेरिका र नामिबियाले सबै ३६ वटै खेल खेलिसकेका छन् । यसमा स्कटल्याण्ड लिग विजेता बनेको छ । ओमान दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेर सोझै विश्वकप छनौट (आइसीसी क्वालिफाएर) खेल्न तेस्रो राष्ट्रको लागि नेपाल र संयुक्त अरब इमिरेट्स प्रतिस्पर्धामै छन् । नामिबिया भने पर्ख र हेरको अवस्थामा छ ।
आइसिसि लिग–२ मा रहेका सातै ओटा देशहरूले हरेकले ३६ ओटा एक दिवसीय खेलहरू एक अर्कासँग खेल्छन्, जसमा शीर्ष तीनमा रहने टोलि एक दिवसीय विश्वकप क्वालिफाएरका खेलमा छनौट हुन्छन् । यि लिग–२ का आधि खेल घरेलु मैदानमा र आधि खेल विदेशी मैदानमा खेल्नुपर्छ । नेपालले हालसम्म ३६ मध्ये ३२ खेल खेलेको छ र उसको ३२ अङ्क छ । यसमा १५ जित र दुइ बराबरी समावेश छन् । हाल नेपाल लिगको पाचौँ स्थानमा छ ।
आइसीसी क्वालिफाएर प्ले–अफ
आइसीसी लिग–२ का सबै खेल खेलिसकेपछि पुछारमा रहने बाँकी चार देशहरूले च्यालेन्ज लिगका विजेतासँगै आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्छ । यसमा लिग–२ का पुछारमा रहेका चार देशहरू बाहेक च्यालेन्ज लिगबाट क्यानडा र जर्सी यसअघि नै छनौट भएर खेल्न तयार छन् । आइसीसीले २१–३२ नम्बरका देशलाई दुई समूहमा बाँडेर च्यालेन्ज लिग ए र च्यालेन्ज लिग बी खेलाएको थियो । यसमा ए र बी का विजेताहरू विश्वकपको यात्राका लागि आइसीसी प्ले–अफ क्वालिफाएरमा लिग–२ का पुछारका चार देशसँग भिड्नुपर्छ । आइसीसी च्यालेन्ज लिगमा हरेक समूहले १५ खेल खेलेर शीर्ष २ मा स्थान बनाउँदै क्वालिफाएर प्ले–अफमा पुगेका हुन् ।
लिग–२ का चार र च्यालेन्ज लिगका २ गरी ६ ओटा देशको बीचमा राउण्ड रोबिन प्रतियोगिता हुन्छ । यसमा शीर्ष २ मा पर्ने टोली आइसीसी क्वालिफाएर खेल्न छनौट हुन्छ । आइसीसी क्वालिफाएरका खेलहरूमा जसले शीर्ष २ मा स्थान बनाउँछ, त्यो देश विश्वकपका लागि छनौट हुन्छ । लिग–२ मा एक मात्रै सिरिज बाँकी रहँदा पपुवा न्यू गिनी, अमेरिका र संयुक्त अरब इमिरेट्स क्वालिफाएर प्ले अफ खेल्ने निश्चित भएको छ । नेपालले भने आगामी चार मध्ये चारै खेल जितेमा सिधै विश्व कप छनौट खेल्न पाउने सम्भावना कायमै छ । यस्तो अवस्थामा आगामी नतिजाले नामिबिया वा नेपाल मध्ये क्वालिफाएर प्ले अफ खेल्नुपर्ने टुँगो लाग्नेछ ।
आइसीसी ग्लोबल क्वालिफाएर
आइसीसी क्वालिफाएर समूहमा सुपरलिगबाट विश्वकपमा छनौट हुन नसकेका पुछारका (९–१३ नम्बरमा रहेका राष्ट्रहरू), लिग–२ बाट सात मध्ये शीर्ष तिनमा परेका राष्ट्रहरू र आइसीसी क्वालिफाएर प्ले–अफका खेलबाट शीर्ष दुइमा परेका टोली गरी १० टोली विश्वकपमा छनौटका लागि प्रतिस्पर्धा गर्छन् । आइसीसी क्वालिफाएर केही कडा प्रतिस्पर्धा हो । किनकि यसमा टेस्ट मान्यता पाएका चार राष्ट्रहरू खेल्ने पक्का छ । एसोसिएट राष्ट्र नेदरल्याण्ड पनि विश्वकपको टिकटका लागि अन्तिम कोशिस गर्नेछ । आइसीसी क्वालिफाएर खेल्ने १० मध्ये शीर्ष दुइमा रहने टोलिहरू यसै वर्ष भारतमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्न छानिनेछन् । क्वालिफाएरको पुछारमा रहने टोलीले सन् २०२७ को विश्वकप छनौटको लागि आइसिसि लिग–२ खेल्नुपर्नेछ ।
विश्वकप छनौटमा नेपालको स्थिति
नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय मान्यता पाएको थियो । त्यस यता विभिन्न मितिमा अन्तराष्ट्रिय सिरिजहरू खेल्दै आएको छ । हाल नेपाल आइसीसी लिग–२ को छनौट चरण खेलिरहेको छ । यस लिगमा नेपालले ३६ मध्ये ३२ खेलहरू खेलेको छ जसमा १५ जित, २ बराबरि÷नतिजाहिन र १५ हार बेहोरेको छ । अब खेल्न बाँकी चार खेलहरू छन् । ती मध्ये दुई वटा संयुक्त अरब इमिरेट्ससँग र दुई पपुवा न्यू गिनीसँग छन् । अहिलेको अवस्थामा नेपाल, युएइ र पिएनजीले समान चार खेल खेल्न बाँकी छ । तर नेपालको ३२ अङ्क र संयुक्त अरब इमिरेट्सको ३१ अङ्कसहित क्रमशः पाँचौँ र छैठौँ स्थानमा छन् । यहि प्रदर्शन दोहोर्याएमा पिएनजीको भने विश्वकप खेल्ने सम्भावना लगभग सकिएको मान्न सकिन्छ । तर उसको लागि क्वालिफाएर प्ले अफका सबै खेल जित्ने र अन्तिम छनौट (क्वालिफाएर) चरणमा बलिया देशलाई हराएर विश्वकप खेल्न पाउने सम्भावना बाँकी छ । पहिलो स्थानको स्कटल्याण्डको ५० अङ्क छ भने ओमानको ४४, नामिबियाको ३९ र अमेरिकाको ३५ अङ्क छ । यस्तो अवस्थामा नेपालका लागि विश्वकपको बाटो केही कठिन देखिएको छ । किनकि क्वालिफाएर खेल्न गणितीय आधारमा अबका चारमध्ये ४ वटैमा जित निकाल्नुपर्छ । क्वालिफाएरमा जिम्वावेजस्ता टेस्ट मान्यता पाएका राष्ट्रलाई हराएर १० मध्ये शीर्ष दुइमा रहनुपर्ने हुन्छ । नेपाललाई विश्वकप खेल्न यो निकै कठिन परीक्षा हो ।
यदि नेपालले बाँकी चार खेलमा शतप्रतिशत जित निकाल्न नसकेमा लिग–२ को पुछारका ४ मा रहँदै आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्ने लगभग निश्चित जस्तै छ । त्यहाँ उसले पिएनजी, क्यानडा, जर्सी, अमेरिका र संयुक्त अरब इमिरेट्ससँग खेल्नुपर्ने छ । त्यो समूहका खेलमा जित निकाल्दै शीर्ष दुईमा परेमा नेपालसहित स्कटल्याण्ड र ओमान लगायतका १० ओटा राष्ट्रहरू सम्मिलित क्वालिफाएर खेल्न पाउनेछ । यदि ती १० मध्ये नेपाल शीर्ष २ मा रहेको अवस्थामा आगामी एक दिवसीय विश्वकपमा स्थान बनाउनेछ । अर्थात् नेपालले विश्वकप खेल्ने हो भने लिग–२ का अबका चारमध्ये ४ मा जित निकाल्नुपर्छ । यस्तै क्वालिफाएरमा कम्तिमा आफ्नो समूहका सबैलाई जित्नुपर्छ । तर नेपालले लिग–२ का बाँकी खेलमा राम्रो नतिजा हासिल गर्न नसकेमा आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्नेछ ।
नेपालले विश्वकप खेल्न क्वालिफाएरका ६ मध्ये शीर्ष दुईमा रहँदै क्वालिफाएरमा पुग्नुपर्छ । त्यहाँ अघि उल्लेख गरेजस्तै आफ्नो समूहका सबै टिमलाई पराजित गरेर वा राम्रो रनरेटमा खेलहरू जितेर शीर्ष दुईमा रहनुपर्ने हुन्छ । यद्यपि, एउटा केहि वर्ष अगाडि मात्रै एक दिवसीय मान्यता पाएको र प्रशिक्षकसमेत खेलको केहि दिन अघि मात्रै नियुक्त हुने गरेको सन्दर्भमा विश्वकपको यात्रा केहि कठिन देखिएको छ ।
छनौटमा नेपालले राम्रो गर्न नसकेमा विश्वकप त खेल्न पाउँदैन । साथै उसले थप खराब प्रदर्शन गरेमा एक दिवसीय मान्यतासमेत खोसिनसक्छ । त्यसको लागि कम्तीमा क्वालिफाएर प्ले अफको शीर्ष ४ मा रहनुपर्ने हुन्छ । अर्थात् नेपालले आगामी खेलहरूमा राम्रो नतिजा निकाल्न सकेन र क्वालिफाएर प्ले अफमा पनि क्यानडा र अमेरिका जस्ता देशहरूसँग पराजित भएको अवस्थामा पाँचौँ या छैठौँमा रहेको अवस्थामा नेपालको आइसीसी एकदिवसीय मान्यता खोसिनेछ । यसले नेपाललाई क्रिकेट परिषद्बाट प्राप्त हुने आर्थिक सहयोग र अन्य अवसरहरूसमेत कटौति हुन सक्नेछन् । तर नेपालको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनौट हुन नसके पनि एकदिवसीय मान्यता कायम रहन सक्छ भन्ने आँकलन गर्न सकिन्छ । किनकि एकदिवसीय मान्यता जोगाउने नेपालसँग तीन वटा विकल्प छन् । पहिलो आगामी चार मध्ये चारै खेल जितेर लिग–२ को शीर्ष तीनमा रहँदै क्वालिफाएर (विश्वकप छनौट) खेल्ने र एकदिवसीय मान्यता जोगाउने । दोस्रो विकल्प हो हाल चलिरहेको लिगको पाँचौ स्थान सुरक्षित गर्दै एक दिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गर्ने । त्यसको लागि आगामी ४ मध्ये कम्तिमा २ खेल जित्नुपर्ने छ । यस्तो अवस्थामा अमेरिकाको एक दिवसीय मान्यता जोखिममा पर्नेछ । तेस्रो बाटो भनेको नेपालले पुछारका अरू तिन टोली र च्यालेन्ज लिगका दुइ टोली सम्मिलित आइसीसी क्वालिफाएर प्ले–अफ खेल्ने र त्यहाँ शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाउने । त्यति मात्र नभइ उक्त लिगको शीर्ष दुइमा रहेको अवस्थामा नेपालले फेरि पनि विश्वकप छनौट खेल्न पाउनेछ । यदि त्यसो हुन सकेमा मात्र पनि नेपालले टेस्ट मान्यता राष्ट्रहरू जिम्वावे बाहेकसँग पनि खेल देखाउने अवसर पाउनेछ । यस बाहेक एकदिवसीय मान्यता जोगाउने हो भने वार्षिक ८–१० करोड बराबरको आर्थिक सहायतासमेत अन्तराष्ट्रिय क्रिकेट परिषदले नियमित उपलब्ध गराउनेछ ।
सारमा उल्लेख गर्दा नेपाल विश्व कपको छनौटको लागि ग्लोबल क्वालिफाएरमा छनौटको
सम्भावना जिवितै राखेर संघर्ष गरिरहेको छ । उसको लागि संयुक्त अरब इमिरेट्स (युएइ)
मुख्य बाधक जस्तै छ । किन कि नेपालले बाँकी चार वटै खेल जित्नै पर्ने छ । बाँकी
रहेका खेलमध्ये दुई खेल युएइसँगै छन् । यस्तो अवस्थामा विश्वकप छनौटमा स्थान पक्का
गर्न कम्तीमा आइसीसी लिग–२ मा राम्रो प्रदर्शन गर्नुको विकल्प छैन । यद्यपि,
यसअघि
गरेको प्रदर्शनका आधारमा बाँकी खेलहरू घरेलु मैदानमै हुने भएकोले राम्रो प्रदर्शन
गर्नेमा विश्वास गर्न सकिन्छ ।
यस लेखलाई विक्रमसंवत २०७९-११-२४ गते आइतबारको साझा बिसौनी दैनिकको अङ्कमा र सोहि पत्रिकाको अनलाइन संस्करणमा पढ्न सकिन्छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!