युथ साउण्डिङ बोर्डले ‘आधुनिक परिदृश्यमा पहुँचयुक्तता’ विषयक अभिमुखिकरण गर्ने

१५ मंसिर, सुर्खेत

नेपालका युवाहरूको सहभागितालाई सशक्त र अर्थपूर्ण बनाउन जलवायु, सुसासन र नेतृत्वका कार्यकलापमा क्रियासिल युथ साउन्डिङ बोर्ड नेपाल (YSB) ले ३२औ अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसको अवसरमा आधुनिक परिदृश्यमा पहुँचयुक्तता विषयक अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

संस्थाले आफ्नो वेबसाइटमा एक घटना विवरण राख्दै मंसिर १७ गते बेलुकि ६ बजे देखि ७ बजेसम्म "Accessibility in the Digital Landscape" विषयक अभिमुखिकरण कार्यक्रम गर्ने जानकारी दिएको हो । सूचनामा उल्लेख भएअनुसार युथ साउन्डिङ बोर्डले युथ इनोभेसन ल्याबसँगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । युथ साउन्डिङ बोर्ड नेपालका विभिन्न परियोजनामा काम गरिरहेका करिब २५ बढि युवाको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा अपाङ्गता अधिकारकर्मि एवं विरेन्द्रनगर नगरपालिका स्थानीय जनवकालत समितिका संयोजक बसन्त जैशीले सूचनामा पहुँचयुक्तता कसरी अधिकतम गर्ने भन्ने विषयमा सहभागिहरूलाई अभिमुखिकरण गराउने बताइएको छ । करिब एक घण्टाको उक्त कार्यक्रम माइक्रो सफ्ट टिम मार्फत भर्चुवल रूपमा सञ्चालन हुनेछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले  १९९२ डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो । राष्ट्र सङ्घको आह्वानमा अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिको बुझाइ, अधिकार र मर्यादित जीवनका लागि सहयोग जुटाउने उद्देश्यले  हरेक वर्ष सन् १९९२ देखि डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस मनाइँदै आएको छ ।

यस वर्षको लागि नेपालको नारा "दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता" भन्ने रहेको छ । "United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities." भन्ने मूल नाराका साथ विश्व भर अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गराइ विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

राष्ट्र सङ्घको वेबसाइटमा उल्लेख भएअनुसार विश्वमा करिब एक अर्ब व्यक्तिहरूमा अपाङ्गता रहेको छ जसमा करिब असि करोड व्यक्तिहरू नेपाल जस्तै विकाससिल राष्ट्रहरूमा रहेका छन् । अहिले ६० वर्ष वा सो भन्दा धेरै वर्ष पाको जनसङ्ख्याको करिब ४६% मा अपाङ्गता छ । महिलाहरूमा करिब २०% र बालबालिकाहरूमा करिब १०% व्यक्तिहरूले अपाङ्गता अनुभव गर्ने गरेको राष्ट्र सङ्घले उल्लेख गरेको छ । अपाङ्गता भएका व्यक्तिको संक्षिप्त इतिहासका घटनाको जानकारी पाउन अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसको वेबसाइट अवलोकन गर्न सकिन्छ ।



Comments