फरक क्षमता भएकालाई नमुना मतदान
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो । विगतका निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेपछि यो पटक मत बदर हुनबाट रोक्न मतदाताहरूको घर आँगनमै पुगेर मतदाता शिक्षा दिन थालिएको आयोगले जनाएको छ ।
नेत्रहीन युवा सङ्घ नेपालको
आयोजनामा सुर्खेत वीरेन्द्रनगर – ८ स्थित शिद्धबहिरा स्कुलमा फरक क्षमता भएका
व्यक्तिहरूलाई नमुना मतदान प्रक्रियामा सहभागी गराइएको छ । विगतका
निर्वाचन प्रक्रियामा मताधिकार प्रयोगमा वञ्चित हुने गरेका नेत्रहीनहरुलाई आफ्नो
सुरक्षित मतदान गर्न पाउने अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले नमुना मतदान
गरिएको हो ।
निर्वाचन प्रक्रियाको बारेमा जानकारी नहुँदा मत धेरै मत बदर हुने
गरेको नेत्रहीन युवा सङ्घ नेपाल, सुर्खेतका अध्यक्ष शेरबहादुर ओलीले
बताउनुभयो । उहाले
पूर्ण र आंशिकरुपमा आँखाको दृष्टि गुमाएकाहरूलाई नमुना मतदानले आगामी निर्वाचनमा
आफ्नो मताधिकार सुरक्षित गर्न सहज हुने बताउनुभयो । मत कसरी हाल्ने
भनेर विगतमा कसैले नसिकाउँदा मतदानको दिन अन्यौलता नमुना मतदानमा सहभागी हुँदा
धेरै कुरा बुझ्ने अवसर पाएको सहभागीहरूको प्रतिक्रिया छ ।
मतदानको अनुभव नै नभएका नागरिक पनि पहिलो पटक भोट दिन पुगेका हुन्छन्
। तर, भोट कसरी दिने भन्ने राम्रोसँग जानकारी नभएकाले मत बदर हुने सम्भावना
देखिँदा मत बदर हुनबाट रोक्न नमुना मतदानको आयोजना गरिएको नेत्रहीन युवा सङ्घ
नेपालका कार्यक्रम संयोजक वसन्त जैशीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा पनि नागरिकलाई निर्वाचन शिक्षा दिने गरिएको थियो । तर यो पटक पनि टोल बस्तीमै पुगेर मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउने, अशक्त व्यक्तिहरूका लागि सहयोगीले कसरी सघाउने भन्ने विधि सिकाउने गरिएको छ । कर्णालीमा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ २४ प्रत्यक्ष सिट रहेको छ । प्रदेशका १० जिल्लामा कुल १० लाख आठ हजार चारसय तीन मतदाता छन् । प्रदेशभर ९३३ मतदान स्थलमा एक हजार चारसय दुई मतदान केन्द्र तोकिएको छ ।
यो समाचार
विक्रम संवत २०७९ कार्तिक २० गते आइतबारको गोर्खापत्र दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!