सुर्खेतका दृष्टिविहिनको गुनासो: हाम्रो मतको दुरुपयोग हुन्छ
मतपत्र दृष्टिविहिन मैत्री हुनु पर्ने सुर्खेतका दृष्टिविहिनको माग
🗹
६ महिना अघि स्थानीय तहको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई
भोट हालेको जस्तो अनुभूति नै भएन । सहयोगीका रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न गएकी उनले भनिन्,
'भतिजीले
मेरो भोट कसलाई हालिन् थाहै भएन' ।
आफ्नो मतको गोपनीयता हुँदैन कि भन्ने चिन्ता छ वीरेन्द्रनगर नगरपालिकाकी दृष्टिविहीन मेनका आचार्यलाई पनि । 'हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिए हाम्रा मतको गोपनीयता हुने थियो', उनी भन्छिन्, 'तर, राज्यले हाम्रो माग बारे कुनै पहल नै गरेको छैन ।'
वीरेन्द्रनगरकै सम्झना बढुवाललाई पनि आफ्ना सहयोगीले आफूले रोजेकोभन्दा फरक ठाउँमा भोट हालिदिन्छन् कि भन्ने चिन्ता छ । 'मैले हाम्रा सवालमा कुरा उठाउने उम्मेदवारलाई मत दिन्छु भन्छु, तर परिवारको धारणा फरक भएकाले म आफ्नै परिवारबाट पनि आफ्नो गोप्य मतको प्रयोग गर्न सक्दिन', उनले भनिन् ।
सुर्खेतकी सोमना खड्काको गुनासो पनि उस्तै छ । 'दृष्टिविहीनको मत कसले हाल्छ भन्ने थाहा पाएपछि मत हालिदिने व्यक्तिलाई प्रभावमा पार्ने कोसिस गरिएको हुन्छ', खड्काले गुनासो गरिन्, 'त्यसकारण त्यो मत हामीले रोजेको व्यक्तिलाई नपर्न सक्छ।' मत हाल्नका लागि लगिएका व्यक्तिले आफूले चाहेका व्यक्तिलाई मत दिने र आफूले भनेका व्यक्तिलाई मत नपर्ने सम्भावना अधिक रहेको उनको बुझाइ छ । निर्वाचन अधिकृत पनि कुनै पार्टीसँग आस्था राख्ने भएकाले दृष्टिविहीनले भनेकै व्यक्तिलाई मत दिएको भन्ने विश्वास गर्न कठिन हुने खड्का बताउँछिन्।
गोप्य मतदान भनिए पनि मतदान गरिएको केही समयमा नै जानकारी बाहिर आउने भएकाले आफूहरूलाई असहज हुने दृष्टिविहीन वसन्त जैसीले बताए । उनले स्थानीय तह निर्वाचनमा आफ्नो मत भाइले दिने थाहा पाएपछि भाइलाई नै प्रभावमा पार्न थालिएको अनुभव सुनाए । एक जनाले आफूजस्ता धेरैको मत खसाल्ने अवस्थामा केही मत आफ्नो इच्छाअनुसार हाल्न सक्ने उल्लेख गर्दै जैशी भन्छन्, 'मतदाता शिक्षा कार्यक्रममा अरुलाई मत हाल्न सिकाइन्छ, तर हामीजस्ता दृष्टिविहीनलाई मत हाल्ने तरिकाबारे सिकाइँदैन, त्यसैले हाम्रो मतको दुरुपयोग भइरहेको छ ।'
निर्वाचन अधिकृत सुनिता थापाले दृष्टिविहीन र
वैदेशिक रोजगारीमा गएका नागरिकको मताधिकारका लागि चुनौती भएको बताइन् ।
यो समाचार विक्रम संवत २०७४ साल मंसिर १७ गते आइतबारको मितिमा नेपाल लाइभ डटकम, रातो पाटि डटकम, तु खबर डटकम, स्थानीय खबर डटकम र २०७४ मंसिर १६ गते शनिबारको मितिमा अपाङ्गता सरोकार डटकम डट एनपिमा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!