अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार र नेतृत्व सम्बन्धी अभिमुखिकरण
| अभिमुखिकरणमा भेरिगङ्गा वडा नम्बर ११ का सहभागिहरू |
अपाङ्गताको क्षेत्रमा नीतिगत वकालतका लागि सक्रिय नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले “अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार र नेतृत्व” विषयक अभिमुखिकरण कार्यक्रम गरेको छ । आइतबार भेरिगङ्गा नगरपालिका वडा नम्बर ११ स्थित रामघाटमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी अपाङ्गता भएका व्यक्तिहरूमा प्रभावकारी निर्वाचन शिक्षा पुर्याउन र अधिकारमा आधारित सशक्तिकरण गर्न अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै भेरिगङ्गा नगरपालिका वडा नं ११ का वडाध्यक्ष तिलकराम डाँगीले गत निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले धेरै कुरा सिकेको र अनुभव हासिल गरेको भन्दै दोस्रो कार्यकालमा ती मध्ये राम्रालाई जिताउन सकिएमा गाउँ तथा नगरको विकास र समृद्धीले गति लिने बताए । पहिलो पटक निर्वाचित हुँदा गरेका धेरै गल्ति नदोहोरिने हुँदा चुस्त र गुणस्तरीय कामको लागि पनि उनीहरूलाई मौका दिईनुपर्ने वडा अध्यक्ष डाँगिको भनाइ छ । आगामी निर्वाचनमा विगत भन्दा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वमा उल्लेख्य सुधार आउन सक्ने उनले दावी गरे ।
निर्वाचन लगायतका विषयमा नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले गरेको कार्यक्रम अनुकरणीय रहेको भन्दै कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो निर्णय आफै गर्न सक्ने आत्मविश्वास प्रदान गर्ने वडा अध्यक्ष डाँगीले विश्वास गरे ।
कार्यक्रममा सहभागिहरूले आफ्नै राजनैतिक अधिकार समेत पहिलो पटक थाहा पाएको बताएका थिए । सहभागी कृष्ण खत्रीले निर्वाचन सम्बन्धी शिक्षा आफुले जीवनमै पहिलो पटक पाएको बताए । उनले भने, “मैले राजनैतिक अधिकार व्यवस्थाको बारे पहिलो पटक यसरी स्पष्ट जानकारी पाएँ । वास्तवमै भन्दा मलाई वडामा कति जना सदस्य हुन्छन ? नगर/गाउँ सभामा कति जना र कसरी छानिन्छ ? जस्ता कुराहरू आज आएर थाहा भएको छ ।”
यस्तै सहभागि प्रिया कयालले आफुले जानेको कुरा अरूलाई सिकाउन कार्यक्रमले प्रेरणा दिएको भन्दै यस्तो कार्यक्रममा पहिलो पटक सहभागि हुन पाउँदा खुसि लागेको बताइन् । यस्तै अभिमुखिकरण कार्यक्रममा नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेर बाहादुर ओलीले कानुनमा रहेको अल्पविरामलाई दलहरूले हतियार बनाएर अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वमा अङ्कुश लगाएको बताए । उनले भने, “कानुनमा रहेको यौनिक अल्पशङ्ख्यक वा अपाङ्गता भन्ने वाक्यांशको नाममा दल र स्थानीय तथा प्रदेश र संघीय निर्वाचनमा पनि अपाङ्गताको मुद्दा कमजोर पारिएको छ” ।
नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेत मार्फत यस प्रकारको कार्यक्रमले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई राजनैतिक अधिकार बारे सचेत र सशक्त बनाउँदै लोकतन्त्रमा मतदान गर्न प्रेरित गरिरहेको अध्यक्ष ओलीको भनाइ छ ।
नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको आयोजना तथा भेरिगङ्गा नगरपालिका – ११ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा पहुँचयुक्त निर्वाचन प्रणालीका लागि सुर्खेत जिल्ला फिल्ड अधिकृत बसन्त जैशीले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा भेरिगङ्गा नगरपालिका स्थित वडा नम्बर ११ का ३० बढी अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।
समाचार २०७८ साल फाल्गुन २९ गते आइतबारको फरक बाटो डटकममा प्रकाशित छ ।

Comments
Post a Comment
Would you like to add something? Enter here!