लम्कि-चुहा देखि विरेन्द्रनगरसम्म
मिति २०८०/३/१८ सोमबार 3 July, 2023
यस दैनिकिमा मैले वैयक्तिक भावना र सम्बन्धसँग जोडिएका घरायसि मामला परै राखेको छु । जे भयो, डेरामा पुगेर सम्झिएजति लेखेँ । तस्विर सुर्खेत पुगेको गाडिको हो ।
सुरुमा १६ अषाढमा फर्किने तालिका थियो तर १५ अषाढमा अपाङ्गता समन्वय समितिको वैठक बस्न नसकेको र १६ गते रोपाइँ हुन नसक्नु र १७ गते यात्रा नगर्नु भन्ने पौराणिक मान्यताका कारण मेरो यात्रा पनि दुइ दिन पर धकेलियो । अर्थात म १८ गते सोमबार मात्रै विरेन्द्रनगर फर्किने निश्चय भयो । यसरी १५ अषाढमा मेरो तालिका बन्यो ।
योजना अनुसार म १८ अषाढमा रितिरिवाज पुरा गरी घर छोडेर सुर्खेतको लागि पाइलला चालेँ । विगत जस्तै मेरो मनमा महत्वाकाञ्छाले यस पटक स्थान लिन सकेन । म केहि बुझाउँदै केहि विस्वस्त हुँदै प्रतापपुरको प्रतिक्षालयसम्म आइपुगेँ । काका भेटिए । कतिले घरबाटै बसमा चढ्नुपर्ने भनि प्रश्नात्मक सुझाव दिए। तर मैले त्यसलाई “हिड्दा दुइटा फाइदा हुन्छन्; धन पनि जोगिने, स्वास्थ्य पनि राम्रो हुने” भनि ठट्यौलो शैलिमा जवाफ दिएँ । कतिपयले मलाई आँखाको बाहेक खोट लगाउनुपर्ने केहि नरहेको तर्क गर्दैथिए । मैले प्रतिवाद गरिन ।
करिब सवा नौ बजे धन्गढिका लागि टिकापुरबाट बस आयो । हामी त्यसलाई स्थानीय बस भन्दछौँ । त्यसमा चढेर मैले आफ्नो यात्रा अगाडि बढाएँ । गुलौरा पुग्दासम्म बिहानको ९:४१ भईसकेको थियो । विगतमा छुट नपाएको तितो मनमा छदैथियो, यस पटक पनि तेहि दोहोरिने आँकलन गरेर मैले गाडि बदलेर भएपनि सुर्खेत पुग्ने निधो गरेँ । त्यसको पछाडिको कारण भनेको बेलुकिको समयमा वर्षा हुन सक्ने र त्यसले मेरो हिडडुलमा प्रतिकुल प्रभाव पर्न सक्थ्यो भन्ने हो ।
यस पटक मैले हाइस भेटेँ । चढ्नु अघि नै कहाँसम्म जाने हो? भनि सोधेँ । थाहा भयो, हाइस कोहोलपुरसम्म रहेछ । जवाफमा मैले भाडा निश्चित गर्ने मनसायले सोधेँ । चालकले ४३० हो भने । केहि सेकेण्डमा सहचालकले ४०० दिनुहोला नि त भने । मलाई रवैया देखाउनु थिएन यस पटक । त्यसैले चुपचाप सिटमा बसेँ । गाडि लगभग ५०% भरि जस्तै थियो ।
छुट पुरा लिन सकिन्छकि भनि यस पटक मैले केहि चलाखि उपाय प्रयोग गरेँ । चढ्दा नै ३० रुपैया घटेको थियो भाडा । अरू पनि घटाउन सकिन्छकि भन्ने हेतुले नरम भएर कुरा गर्नु उचित लाग्यो । मैले लम्कि कटेपछि सहचालकतिर हेर्दै सोधेँ, “अपाङ्गता भएका व्यक्तिका लागि छुट छैन तपाइँको गाडिमा?” सहचालकले तुरुन्तै जवाफ दियो, ३५० दिनुहोस् न त । यो भन्दा बेसि बोल्नु मैले ठिक ठानिन । पाँच सयको नोट दिएँ तर उनले १०० भारतीय रुपैया दिएकोले मैले चलाउन असजिलो हुने भन्दै फिरता गरेँ । केहि समय पछि कतै साँटेर सहचालकले मलाई रकम फिरता गरे । मैले मागे मुताविक नै उनले टिकट पनि दिए ।
करिब १७ किमि यात्रा गरेर चिसापानी पुगेपछि बिहानको १०:२७ बज्यो । चालक टोलिले खाना खाए, अरूले पनि खाए होलान् । कोहि भने पुलमा टिकटक बनाउन गाडि रोकिनासाथ दगुरे । त्यहाँबाट उनिहरूको गाडिमा यात्रु कम भएको र अर्को गाडिवालासँग कुरा गरेपछि अन्तमा हामीलाई अर्को हाइसमा हालेर उनिहरूले कोहोलपुर पठाए । हाइसमा घुम्ति–घुम्ति रोड भन्ने लोकदोहोरी गीत बज्यो, अरू पनि गीत बजे ।
एउटा जाँच चौकि देखि अर्को जाँच चौकिका लागि २२ मिनेट जतिको समय निर्धारण गरिएको हुनेरहेछ क्यारे । गुडेर वा उडेर हिड्ने, सबैलाई चाँडै पुग्न पाए भन्ने लालचले छोड्दैन । हाइसमा त्यो अनौठो थिएन । हरेक जाँच चौकिले एक मिनेट ढिलो र छिटो कुधेको पनि हिसाब गर्छ । समय हेर्दै गाडि चलाएको हुनाले एउटि अधवैशे नारिले छिटो जाउँ, किन छिटो आएको भनेपछि डेलिवरि केस छ भन्नु भन्दै फिस्स हाँसिन् । चालकले कसलाई डेलिवरि भन्नु, मान्छे हाँसिराछन् भन्दै उनितिरै फर्काएर जवाफ दिए । जवाफमा उनले मलाई डेलिवरि हुने जस्ति मान्नुभयो? डेलिवरि हुने मान्छे हाँस्दैनन् र? जस्ता प्रश्न गरीन् । चालकको कुरा मैले राम्ररि सुन्न सकिन । म व्यक्तिगत कुरा सम्झिदै गाडिको गतिमा भित्र छिरेको हावामा केहि रमाइलो मान्दै मन डुलाउन लागेँ ।
चिसापानि–कोहोलपुर सडकमा मैले अस्तिको बाटो छेक्ने हात्तिलाई सम्झिरहेँ । चिसापानि कटेपछि बर्दिया जिल्लामा ४–५ प्रहरी जाँच चौकि पार गर्दै हामी कोहोलपुर पुग्यौँ । त्यो बेला घडिले १२:४२ बजाइसकेको थियो । केहि बेर रोकिएर हाम्रो यात्रा फेरि विरेन्द्रनगरतिर अघि बढ्यो ।
चिसापानिमा हामीलाई अर्को गाडिमा हालेजस्तै त्यहाँ पनि अरू कोहि हाइसबाट यात्रुहरू हाम्रो हाइसमा हालियो । एउटाबाट अर्को गाडिमा चढ्नुपर्दा मुख्य समस्या भनेको रोजेको सिट नपाइने र सामान झार्नु–लाध्नु रहेछ । केहि यात्रु भन्दैथिए, सिट नै छैन; सहचालक भन्दैथियो, अहिले भित्र छिर्नुहोस् गाडि पुरै खालि छ । सायद उनिहरूको आसय रोजेको ठाउँमा सिट नपाएको असन्तुस्टि होला । एक जना उम्मेर छिपिएको मान्छे मसँग महिला महिला एक ठाउमा बस्छौँ, मलाई झ्यालमा नबसे त वान्ता हुन्छ भनि सौदावाजि गर्दैथिईन् । तर यसमा मैले केहि भनिन । बाटो भरि सँगै थियौँ, उनलाई बान्ता भएन बरु मेरो पाइण्टमा उनले ३० रुपैया हालेको पानीको बोतल खनाइदिईन् । म मनमनै मजाले हाँसेँ, “त्यत्रो सिट नदेख्ने सायद आँखा कमजोर भएछन्, मिलाउन त सहचालक पो खप्पिस रहेछन् भने कति धेरैका सम्बन्ध छुट्न लागेका छन्, गएर मिलाउन सके कति गजव हुन्थ्यो” । मिलेर बस्नु भन्ने यो जुनिमा सहचालक बाहेक कोहि भेटिएन!
बाटोमा चालकले कोहोलपुर देखि बिरेन्द्रनगरसम्मको भाडा मागे । केहि असजिलो गरि बस्नुपरेकोले मैले झर्ने बेला दिउँला भनेँ । बबै आएपछि चालकले अरूलाई जस्तै मलाई पनि भाडा मागे; यस पटक उनको माग्ने तरिका नयाँ थियो । झ्यालबाट आएर मलाई तेल हाल्नुपर्ने छ भाडा दिनुहोस् ४५० भने । म: मैले ४५० नदिएकोले पो अहिलेसम्म तेल हाल्न नसकेको हो? भनि प्रश्न गरेँ । उनि चुप रहे । यस पटक मैले छुटको कुरा गरिन । किनकि मलाई थाहा थियो, अस्ति पनि कैलाली जाँदा यहि गाडिमा गएको हो । ४५० रुपैया हातमा थमाएँ र टिकट खै? भनि सोधेँ । उनले टिकट हाइसमा नबोकेको/बिर्सिएकोले टिकट नमिल्ने बताए । मसँगैको पंतिमा बसेकि एउटा मान्छेले टिकट त दिनुपर्ने नि भन्दै असन्तोस पोखिन् । सहचालक अब बोल्नेवाला थिएन । लाग्यो, पैसा दिएपछि गाडि साहुको नजरमा यात्रुहरू मकैको खोस्टा भन्दा पनि खतम हुन् । किनकि अस्ति पैसा नदिएकोले टिकटको व्यवस्था गरेको थियो बीचमा आएर पनि । तर आज त्यो भएन ।
आनन्दित र रोमान्चित हुनु फरक कुरा हो । म अलि पढेको भएर होला बेला बखत सबैलाई सामान्य मानिदिन्थेँ; छुट नदिने गाडिका व्यवस्थापकलाई आफु भन्दा गरिव सम्झिन्थेँ । कहिले कसो बसमा बजेका कलकल खोला सैलेजि, घुम्ति–घुम्ति रोड, आदि गीतमा परिस्थिति मिलेकोमा रोमान्चित पनि हुन्थेँ । यस्तैमा छिञ्चु पुगियो दिउसोको २:५० बजे । गाडिका सहचालकहरू जाजरकोटका लागि यात्रु खोज्दैथिए । हाम्रो गाडिमा कोहि नभएकोले गाडि अघि बढ्यो । करिब ४० मिनेटमा हामी सुबाकुना आइपुग्यौँ । तर जाँच चौकिमा गाडिवालालाई कुन्नि के कारण जरिवाना तिर्नुपरेछ क्यारे । गाडिका सहचालक र चालक ट्राफिक प्रहरीलाई फकाउने कोसिसमा लागेपनि नाकाम भएछ । यात्रुहरूले कागजपत्र नमिलेको, छिटो कुधाएको, छतमा मोटरसाइकल राखेर ल्याएको, आदि कारणले होला भन्दै गाडि रोक्नुको कारण अनुमान लगाउँदैथिए । कोहि लुट्न बसेका हुन् भन्दैथिए प्रहरीलाई त कोहि हाम्रै लागि हो, केहि गल्ति नगरे किन रोक्थ्यो? भनि प्रश्न गरिरहेका थिए । १० मिनेट जस्तो बितेपछि गाडि अगाडि बढ्यो । सहचालकले भन्दैथियो, यत्रो बाटो भरि केहि भएन, घरै नजिक यस्तो भयो ।
विरेन्द्रनगर बसपार्क पुग्दा दिउसोको ३:५७ बजेको थियो । बाहिर गएर नगर बस/अटो मोबाइल कुरेँ । बल्ल बल्ल एउटा आयो । मैले गोकुल कटेज भनेको उसले एरिचोक सुनेछ । एरिचोकमै झर्नुपर्यो । बरु भाडा चाहिँदैन भन्दै ऊ विरेन्द्रचोकतिर हानियो । मैले दिन खोज्दा पनि नलिएसि म हिडेरै डेरासम्म पुग्नुपर्ने भयो । पानी पर्नैलागेकोले मैले अटो रोक्न खोजेँ, तर कोहि पनि मिलेन । डेराबाट पाँच सय मिटर जतिको दुरिमा पानीले भेट्यो । एउटा घरमा ओत लागुञ्जेल पानीले झण्डै भिजायो । रोकिएपछि म घर पुग्दा अपरान्हको ४:३५ भएछ ।
स्रोत: बसन्त जैशीको फेसबुक खाता

Comments
Post a Comment
Would you like to add something? Enter here!