नतिजाले बनायो जिन्दगी: परिक्षा, परिवार र भविष्य
![]() |
षोडशादेवि मा.वी. को प्राङ्गणमा उभिएको बसन्त जैशी |
मिति २०८०-११-२६ गते शनिबार थियो । मेला जाने योजना बनेपनि रकमकै कारण रोकिएको थियो । अन्तरवार्ताको नतिजाले पनि त्यसमा फिक्कापन थपेको थियो । किनकि त्यो प्रतिक्षाकै सुचिमा थियो । दिउसो एक जना शिक्षक मित्रसङ्ग तलब लगायतका विवरण बारे कुरा गर्दै गर्दा कतै नामै नदेखिने त होइन अन्तिम नतिजामा? भन्ने प्रश्नले उत्तर खोजि रह्यो । सम्झिएँ, एम्बिसन गुरु प्राइभेट लिमिटेडमा अध्यापन गराउँदा रमेश बिडारिले भनेको, “तपाइँको सङ्घर्षको कथा सुन्ने धैर्य कोहिसङ्ग छैन तर सफलतामा रमाउनेहरू खोज्नु पर्दैन” ।
अघिल्लो वर्ष प्रथम पत्रमै असफल भएकोले आवेदन दिने खासै रुचि त थिएन
। तर पनि बाध्यता र रुचिको तौलमा तराजु नै यता ढल्किएपछि निधो भयो, यस वर्ष पनि नि.मा.वि. र
प्रा.वि. तृतीय श्रेणिको खुला प्रतियोगितामा एक पटक प्रतिस्पर्धा गर्ने । विस्तारै
आवेदनमा तिरेको दस्तुरले घोच्नथाल्यो, त्यसकै लागि भएपनि आफ्नो स्तरको मेहनत गर्नै पर्छ ।
प्रथम पत्रमा नि.मा.वि. तहको नतिजा सोचेजस्तो भएन । किनकि परिक्षा पनि सहज थिएन ।
सहयोगि राखेर लेखाउनेलाई पढ्नु भन्दा परिक्षा दिने मान्छे नपाइने वा भनेजस्तो
नपाइने र त्यसले पार्ने असर टाउको दुखाइको विषय बनेको हुन्छ । त्यसमा पनि
परिक्षाको मुखैमा कागजि प्रक्रिया पूरा गर्न समय दिनु पर्दा मैले पर्याप्त अध्ययन
गर्न सकिन । आफ्नै अध्ययन पर्याप्त नभएकोले नि.मा.वि. मा नतिजा देखाउन सकिएन ।
प्रा.वि. गर या मरको अवस्थामा जस्तै अवसर थियो मेरा लागि । गत वर्षको
जस्तै हालत हुन नदिन यस पटक मैले लेखन सहयोगि दुइ-तीन जना खोजेँ । पैसा तिरेर
ट्युसन पढेकोले अध्ययनमा जबर्जस्ति भएपनि पढ्नै पर्ने, प्रथम पत्रमा नाम
निकाल्नुको विकल्प मसङ्ग थिएन । अर्कोतिर स्वास्थ्यमा पनि समस्या देखिएको थिएन तर
हाम्रो कनिष्टको लागि विशेष ख्याल गर्नु पर्ने समय सुरु भईसकेको थियो ।
संवत २०८० जेठ महिनाको २० गते धन्गडीमा परिक्षा भयो । सरस्वति मा.वी., मनेरामा भएको परिक्षा
कम्तिमा पनि सुरक्षित थियो यदि उत्तरपुस्तिका भर्न त्रुटि नभएको अवस्थामा ।
ठ्याक्कै भयो पनि सोचेझैँ । सोहि अषाढको १ गते प्रकाशित नतिजामा मेरो पनि नाम थियो
अछामका क्रम ३४२ मा । त्यसपछि आत्मविश्वास बढेर आयो, तयारि अलि कसिएर गरेँ । कक्षा
दैनिक लिन्थेँ । तर पनि त्यसमा टिपोट गर्न नसकेकालाई श्रव्यदृश्यबाट दोहोर्याएर
सुन्ने र पूरा गर्ने काम गर्थेँ । श्रिमतीलाई घरमै सजिलो होला भनेर कैलाली
पठाइदिएँ । त्यसपछिका केहि महिनाको दैनिकि बिहान पाँच बजेदेखि राति ११ बजेसम्म
खालि नबस्ने गरी विभिन्न क्रियाकलापले सुरक्षित गरे ।
पानी सारेर नखाने म, खाना पकाएर खाएर पढ्न थालेँ । दैनिकि केहि व्यस्त थियो । कहिले कसो
सामाजिक कार्यक्रमहरूमा पनि बोलाएको अवस्थामा जाने गर्थेँ । अपाङ्गताको सवालमा
जोडिएका विषयमा आफ्नो प्रष्ट धारणा राख्नु मेरो विशेषता नै हो भन्दा फरक नपर्ला । यस्तैमा
असोज ६ गते हुनु पर्ने शिक्षक सेवा आयोगले लिने परिक्षा सरेर १३ गते तोकियो । उता
घरमा सुत्केरि गराउन अस्पताल लैजाने खबर पाएँ । यद्यपि म अध्ययनलाई निरन्तरता दिन
सकेँ ।
सुर्खेतमै हुँदा ३१ भाद्रमा बाबु पनि बनेँ, राति सामाजिक सञ्जालमा
खुसि साँटेँ । बाबु बनेसङ्गै दबाव झन बढ्यो । किनकि आर्थिक अवस्था कमजोर भए मलाई
मात्र नभई त्यसले सन्तानलाई पनि पोल्ने वाला थियो । योजना मुताविक नै म असोज ६ गते
धन्गडि पुगेँ । यस पटक लेखन सहयोगि ४ जना छानेपनि ती मध्ये चिनजानका र निकट रहेर
काम गरेका मित्रको सुझावमा निराजन चौधरीलाई राखेँ । परिक्षा सोचेजस्तै भयो ।
सुरुको केहि समय समायोजनमा लिएपनि विस्तारै मैले घडि र गणना बाकस (calculator) सङ्गसङ्गै चलाउँदै सबै जसो प्रश्नहरू हल गरेँ । मेरो
उत्तराधिकारि, सन्तानसङ्ग भेट असोज १५ गते मात्रै भयो । सन्तान भावि पुस्ताका हकदार
र ऊर्जाका स्रोत पनि हुन् ।
परिक्षा दिएको दुइ-तीन महिनामा नतिजाको प्रकाशन समय विश्लेषण गर्न
थालेँ । एकातिर नतिजामा भएको ढिलाइ र अर्कोतिर थेसिसमा पनि मन नगएकोले यसमा असफल
भएमा अगाडिको बाटो के हुन्छ? भन्ने कुराले मलाई सन्तानको ऊर्जा र भविष्यको चिन्ताले कहिले दायाँ त
कहिले बायाँ बनाइरह्यो । बेला बखतमा हुने सम्वादमा सबै जसो व्यक्तिहरूले मेरो नाम
सिफारिस हुनेमा शत प्रतिशत विश्वास रहेको बताउँथे । तर पनि पोहोरको विर्सिन लायक
घटनाले मलाई उनिहरूको विश्वासिलो कुरा पनि पत्याउन कठीन पर्यो । एक मनले भन्थ्यो,
पहिलोमा नाम देखिएकै हो । जति मिलेपनि दोस्रो पत्र राम्रो गरेकोले मेरो स्थान यस
पटकका लागि सुरक्षित भएको होला । तर अर्को मनले भन्थ्यो, कतै ३०/५० प्रश्नका उत्तर
मिलेर पो निस्किएको रहेछ भने त दोस्रो पत्रमा जति राम्रो लेखेपनि ४० भन्दा माथि
पहिलो पत्रमा मिलाएकाहरूकै पालो आउने छ । यस पटक ११७ भित्र पर्नु नै मेरो सफलताको
आधारका रूपमा रहनेवाहा छ ।
यस्तैमा विक्रम संवत २०८० फाल्गुन ३ गते अछामको नतिजामा १०६
क्रमाङ्कमा मेरो नाम पनि प्रकाशित भएको देखेर खुसिको सिमा रहेन । तर त्यो अव्यक्त
गर्नु पर्ने थियो । किनकि अन्तिम फैसला त आयोगले मौखिक परिक्षा पछि मात्रै सुनाउने
वाला थियो । सबैले छोरि जन्मेको वर्ष सुखद हुन्छ भन्थे । हुन पनि त्यस्तै भयो ।
अन्तरवार्ताको लागि फाल्गुन २३ मा धन्गडि गएर २४ गते उक्त
अन्तरवार्ता दिएँ । समुह ‘घ’
को क्रम सङ्ख्या ९ मा मेरो
पालो थियो । मैले सुर्खेत पुग्नु पर्ने हुँदा अन्तरवार्ता दिएँ र तुरुन्तै गाडि
चढेर यात्रामा हिडेँ । अन्तरवार्तामा एउटा प्रश्नको उत्तर दिन सकिन, समग्रमा ७०% मात्रै
सोचेजस्तो भएको थियो । अन्तरवार्ता दिएपछि घडिको सुइ भन्दा मनको चाल तिब्र हुँदै
थियो । आँखिर त्यो दिन आयो जसको प्रतिक्षा मैले विगत दुइ वर्षदेखि गरेको थिएँ ।
दिउसो चार बजेतिर अचानक मेरो फोनको घण्टि बज्यो । म बत्ति नभएकोले
आफ्नो खर्च हिसाब गर्दैथिएँ । जित बाहादुर केसीले अचानक बधाई छ, १६ नम्बरमा तपाइँको नाम
सिफारिस भएको छ भनि सुनाउँदा मन जति आनन्दित भयो त्यसको लागि शब्द भेटिँदैन ।
आफ्नो योग्यतामाथि न्याय गर्न नसकेपनि क्षमताको प्रस्फुटन गरेर देखाउन सकेकोमा
दङ्ग परेँ । मलाई इमेलमा पठाइदिनु भन्दै फोन राखेँ । घरमा आमालाई पनि कल गरेर मेरो
नाम निस्कियो,
अब जागिर पक्का भयो भनि फोन
राखेँ । अन्य केहि नजिकका मित्रहरूलाई पनि फोन गरेँ । मेरो बारे यो भन्दा अगाडि
कसैले पनि पोस्ट नगरुन भन्ने चाहेको थिएँ । ठिक तेहि समयमा बिजुलि आयो, इन्टरनेट पनि सुचारु भयो
।हतारमै तलको कुरा लेखेर फेसबुकमा पोस्ट गरेँ । किनकि फेसबुकमा सबैको ध्यान
जान्थ्यो ।
आज प्रकाशित प्राथमिक तहको अछाम जिल्लाको अन्तरवार्ता सहितको नतिजा अनुसार सिफारिस भैयो । बाँकि कुरा अर्को पोस्मा लेख्ने छु ।
शिक्षक सेवा आयोगको सिफारिसमा परेसङ्गै अर्धचेतन कोषिकामा रहेका
सपनाहरू बिउझिन थाले । अन्य पक्षका लागि आर्थिक स्वनिर्भरता/सशक्तिकरण कम्ति महत्वपूर्ण
छैन । अब सरकारि जागिरेका रूपमा मेरो पारिवारिक परिचय बनेको छ । यस अघि काल्पनिक
गणनाका लागि हिसाबकिताब गर्ने मसङ्ग अब आफ्नो स्रोतमा आधारित एकल योजनाहरू हुनेछन्
। दृष्टि सम्बन्धी अपाङ्गता भएको मान्छे भनि चिन्नेहरू अब स्थायि शिक्षक भनि
चिन्नेछन्, जसमा सानै भएपनि सरकारि जागिरेको ट्याग लागेको हुनेछ । यस अघिको जस्तो
आधारभुत आवश्यकतामा अन्योल त हुने छैन तर अभिव्यक्तिमा नियामकीय नियम्बन आकर्षणको
कारण केहि घेराबार जरुर हुने छन् ।
सम्झिएको छु
जननी जन्मभुमिश्च स्वर्गादती गरियसी ।
भलै मेरो शिक्षा दिक्षाको आधा यात्रा सुर्खेतमा भयो । सानो उमेरमा म
मङ्गलसेन पढ्न जाँदा तैले पढेर केहिसक्दैनस् भन्नेहरूलाई सम्झिएको छु । स्कुल
भर्नामा आफ्नो अधिकार व्यवहारिक रूपमा प्रयोग गर्ने तत्कालिन प्र.जि.अ. लाई विशेष
रूपमा सम्झिएको छु । शोडशा मा.वी. मा आधारभुत देखि मध्यम स्तरको ज्ञानको ज्योति
दिने सबैलाई बरोबर सम्झिएको छु । निर्णायक परिक्षामा लेखन सहयोगिहरूलाई विशेष
सम्झिएको छु । ‘शिक्षा शास्त्र पढ्नेहरू
उदारा शिक्षक हुन्’ भन्ने मदन कुँवरको वाक्य पनि सम्झिएको छु । साथै छात्रावासको वातावरण
र साँचिलाई पनि सम्झेको छु । गत वर्ष अरूले नतिजामा नाम निकालेर सिफारिस भएको बधाइ
देख्दा सामाजिक सञ्जालले घोचेजस्तो लागेको त्यो समयलाई सम्झिएको छु । एक पुस्तकलाई
भन्दा एक पङ्तिलाई महत्व दिनेलाई पनि सम्झिएको छु । परिक्षा दिनुअघी र दिएपछि लगातार
पारिश्रमिकको कुरा गर्नेदेखि बिना कुनै सङ्कोच मेरो परिक्षा सहयोगिको भुमिका पूरा
गरेकाहरूलाई अझ धेरै सम्झिएको छु ।
शब्दजालको कौशल र प्रसंशा भन्दा मेरो जीवनमा आफैले भोगेका घटना ठाउँ
ओगट्ने कुरा हुन् । ढाडस दिने सुभचिन्तक र मेरो खुसिमा खुसि हुने सबैमा आभार
व्यक्त गर्दछु । भन्न मन धेरै छ, लेख्न पनि असिमित भण्डारण क्षमता छ । तर समय सिमित छ । यहि सिमित
समयमा असिमित भावनाको दैनिकिबाट केहि साजा गर्न सकेँ भन्ने लागेको छ । यसमा मैले
स्नातक पढ्दाका र स्नातकोत्तर पढ्दाका समकक्षि तथा अन्य व्यक्तित्वहरूलाई
नविर्सिएपनि प्राप्त योग्यतामा न्याय गर्न म चुकेको छु । समयले मेरो पक्षमा फैसला
गर्ने दिन जरुर आउने आसाको लागि पनि आग्रह गर्न चाहान्छु । मूल्याङ्कन अपरिवर्तित
मानकमा नभई त्यसका आधारमा परिवेश हेरि गर्नु अर्थपूर्ण हुन्छ भन्ने लागेको छ ।
सायद सबै पूरा भए लक्ष्यको अस्तित्व नै जिवित रहँदैन ।
अब कम्तिमा एकसरो लगाउन दश पटक सोच्नु पर्ने छैन । एटिएम बुतको बाहिर
बसेर रात गुजारा गर्नु पर्ने छैन । चाहाना सबै पुरा नभएपनि कामना गर्ने आधार
भेटिएको छ । यो वातावरण बनाउने मेरा घर परिवारका मान्यजन, निजि जीवनकि सहयात्रि र
सदस्य एवं अन्य हितैसिहरूको योगदान प्रति कृतज्ञ छु । यि अनुभुति/लेख लेखेर
पत्रिकामा प्रकाशनको लागि दिनु पर्ला भन्ने सोचेको म त्यसमा ढिलाइ हुने र ढिलो
अभिव्यक्त गर्नु नगर्नु जस्तै हो भन्ने बुझेर ब्लग लेख्न पुगेँ! गाथालाई ताजै राख्न
यो अक्सिजन हुनेछ भन्नेमा आसावादि छु ।
अन्तमा: शिक्षक जीवनका कथा साझा
गर्नु अघि लेखिएको यो ब्लग केहि ढिलो जरुर प्रकाशित भएको छ । यसो हुनुमा मेरो
प्राविधिक दक्षता कमजोर हुनु मूल कारक हो भन्नेमा द्विविधा नरहोस् । एचटिएमेल
भिउमा रहेको ब्लगको ढाँचालाई कम्पोज भिउमा राखेर मात्रै सामग्री सम्पादन गर्नु
पर्छ भन्ने थाहा नहुँदा अध्यावधिक हुन सकेन । यसले मेरो लेखनलाई नै प्रभावित गरेको
थियो । सामाजिक सङ्जालमा लामो पोस्ट लेख्नुको सट्टा आफ्नै ब्लगमा ताजा अनुभव साझा
गर्न यो लेखेको हुनाले त्रुटि केलाउने र सङ्कथन सेलाउने काम गर्न सकेको छैन ।
पाठकले पनि त्यो बुझिदिने छन् भन्ने लागेको छ । अगाडिका दिनहरू विगतको इमान र भावि
दक्षताको सन्तुलनमा राखेर बिताउने वाचा गर्दै; किवर्डमा चलेका औलाहरू
यहिँ रोकेर यो प्रकाशित गरेँ ।
-अनुभुति बारे आउने प्रतिक्रियालाई ब्लगर/लेखक महत्व दिन्छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!