दृष्टिविहिनहरूको सशक्तिकरणमा सरोकारवालाहरूको भूमिका

सामान्य बोलिचालिको भाषामा दृष्टिविहिन भन्नाले जन्मजात आँखाको जिनमा प्राकृतिक रुपमा सिर्जित समस्या अथवा अन्य कुनै रोग तथा दुर्घटनाबाट आँखाको देख्न सक्ने क्षमता (ज्योति) गुमाइ उज्यालो र अँध्यारो छुट्याउन नसक्ने, उपकरणको पर्योगबाट पनि दश फिट वा सो भन्दा बढि टाढाको हातको औँला छुट्याउन नसक्ने र सामान्य स्थितिमा इङ्क प्रिण्टमा लेखिएका अक्षरहरू पढ्न नसक्ने जस्ता समस्या हुनु हो । अपाङ्गता रहरले नभई प्राक्रितिक विपत, मानवीय र जन्मजात जिनमा हुने त्रुटिले आउने दिर्घकालिन समस्या हो । यस किसिमका कुनै पनि समस्या भएका व्यक्तिलाई दृष्टिविहिन व्यक्ति भन्दछन् । अर्को शब्दमा औषधि, सल्यचिकित्सा, चस्मा वा लेन्सको पर्योगबाट पनि दुवै आँखाले हातको औँला १० फिटको दुरिबाट छुट्याउन नसक्ने व्यक्तिलाई दृष्टिविहिन व्यक्ति भनिन्छ । दृष्टिविहिन व्यक्तिलाई दृष्टिविहिन, दृश्यहिन, नेत्रहिन, आदि शब्दले सम्बोधन गरिएको पाइन्छ । सामान्यतया दृष्टिबिहिनता दुई प्रकारका हुन्छन् ती हुन्; न्यून दृष्टि युक्त र पूर्ण दृष्टिविहिन । न्यून दृष्टिविहिन भनेको औषधि, सल्यचिकित्सा, चस्मा वा लेन्सको पर्योगबाट पनि दुवै आँखाले हातको औँला २० फिटको दुरिबाट राम्ररि देख्न नसक्ने र स्नेलेन चार्टको चौथो लाइनको अक्षर ६÷१८ मा पढ्न नसक्ने व्यक्ति हो । उज्यालो र अध्यारो छुट्याउन नसक्ने व्यक्तिलाई पूर्ण दृष्टिविहिन भनिन्छ ।

अपाङ्गता भएका व्यक्तिलाई चौतर्फि विकासका लागि उनिहरूको हरेक क्षेत्रमा पहुँच र सहभागिता गराउन समानता तथा समताको प्रकृया मार्फत अगाडि ल्याउने कार्यलाई  सशक्तिकरण भनिन्छ । सशक्तिकरण द्वारा फरक क्षमतावाला व्यक्तिको जिवनमा आउने सकारात्मक परिवर्तनलाई विकास भन्न सकिन्छ । यसर्थमा अशक्त/फरक रूपमा सक्षमहरूको  सशक्तिकरण र विकासका लागि सम्बन्धित निकायबाट गर्नुपर्ने सहयोग वा बहन गर्नुपर्ने दायित्वलाई भुमिकाको रुपमा परिभाषित गर्न सकिन्छ । त्यसैले अधिकार प्राप्तिका लागि दृष्टिविहिनहरू तथा अन्य अपाङ्गलाई सशक्तिकरणको माध्यमबाट अगाडि ल्याउनुपर्छ ।  साथै आफुलाई परेका समस्याको समाधान खोज्न सक्ने क्षमताको विकास गराउन नेपाल नेत्रहिन संघ लगायतका अपाङ्गताको लागि काम गरिरहेका संस्थाहरूले नेत्रित्वदायि भुमिका खेल्न सक्नुपर्छ ।

दृष्टिविहिनता आफैमा समस्या होइन । यो केवल अपाङ्गताका विभिन्न प्रकारहरू मध्ये एउटा किसिम हो । यद्यपि परिवार तथा समाजमा रहेको परम्परागत धारणाले यो समस्या बन्न पुगेको छ । शिक्षाको स्तरमा सुधार आएपनि दृष्टियुक्त तथा साङ्ग व्यक्तिको संकुचित सोचका कारण नेत्रहिनहरू प्रति खासै सम्मानजनक भावनाको विकास हुन सकेको पाइदैन । त्यस कारण दृष्टिविहिन व्यक्तिहरू विशेष गरि महिलाहरू अझै बढि समस्या र चुनौतिहरू भोगिरहेका छन् ।

दृष्टिविहिनतालाई दृष्टिविहिन व्यक्तिहरू स्वयमको परिवार र समाजले चुनौतिको रुपमा स्विकारेको पाइन्छ । वंशाणुगत कारणको अलावा आँखामा लाग्ने चोटपटक, बराबर आँखाको सरसफाइमा ध्यान नदिने बानि, विभिन्न रोगहरू, प्राकृतिक प्रकोप आदि कारणले  जो कोहिलाई पनि दृष्टिविहिन अपाङ्गता हुन सक्छ । साथै दुवै जना जन्मजात प्रकृतिका व्यक्ति बिच वैवाहिक सम्बन्ध भएको अवस्थामा तिनिहरूबाट जन्मिने बच्चामा समेत दृष्टिविहिनता हुन सक्ने सम्भावना रहन्छ । नेपालमा यस किसिमका व्यक्तिहरूको सहयोगार्थ धेरै संस्थाहरूले प्रत्यक्ष एवम परोक्ष रुपमा काम गरिरहेका भएतापनि दृष्टिविहिन व्यक्तिको सशक्तिकरणको लागि औपचारिक शिक्षामा मात्र जोड दिने परिपाटिका कार्यक्रम सञ्चालन गरिएको पाइन्छ । त्यसैले यसका अतिरिक्त दृष्टिविहिनतालाई न्यूनिकरण र आइपर्ने समस्याको सामना गर्न दक्षता अभिवृधि गराउने कार्यक्रमहरू गर्न जरुरि देखिन्छ । किनभने नेपालको दृष्टिविहिनहरूको तथ्याङ्कलाई हेर्दा राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको करिब ९५१०० जना (०.८%) दृष्टिविहिन व्यक्तिहरू रहेको देखिन्छ जुन जम्मा अपाङ्गहरूको १८.५ प्रतिशत हो । सामान्य तरिकाले बुझ्दा नेपालका जम्मा मान्छेहरूमा प्रत्येक हजार जनामा आठ जना दृष्टिविहिन व्यक्तिहरू रहेका छन् । त्यस्तै हरेक २०० जना नेपालिहरू मध्ये तिन जना व्यक्तिहरू कुनै न कुनै रूपमा अपाङ्ग छन् । सबै अपाङ्गहरूको तुलनामा प्रति एक सयमा १८ जना दृष्टिविहिनहरू रहेका छन् । तथापि अझै धेरैले परिचयपत्र पाउन नसकेकोले तथ्याङ्क बढ्न सक्ने यस क्षेत्रका केहि अगुवाहरूको कुरा पनि विचारणीय छ । तसर्थ नेपाल सरकार र नेपाल नेत्रहिन संघ सहितका संस्थाहरूले वास्तविक तथ्याङ्क घट्ने गरी समन्वय र सक्रीयता बढाउन जरुरि छ । अतः औपचारिक शिक्षामा पहुँचको अतिरिक्त रोजगारिमा जोड दिँदै दृष्टिविहिनहरूको उन्नतिको साथै दृष्टिविहिनतालाई न्यूनिकरण गर्ने कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्नुपर्ने आवश्यकता खड्किसकेको छ ।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा ४ मा दृष्टिविहिनले उच्च शिक्षा सम्म ब्रेल लिपिमा अध्ययन गर्न पाउने कुरालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ तर नेपालमा अझै पनि स्रोत साधनको उचित प्रबन्ध नहुनु र ब्रेल पुस्तक छाप्ने प्रणालिमा सुधार नहुनुले कतिपय ठाउँमा अनिवार्य विषयका पुस्तक समेत पुग्न सकेका छैनन् । नेपालमा दृष्टिविहिन शिक्षाको सुरुवात विक्रम सम्वत २०२१ मा काठ्माण्डौको ल्याब्रोटोरि स्कुलबाट भएको मानिन्छ । करिब पाँच दशक सम्म पनि विशेष शिक्षा अन्तरगत औपचारिक घेरामा अध्यापन गराइने ब्रेल पद्दतिको विकासमा अपेक्षित सुधार भएको देखिदैन जसले गर्दा शिक्षाको गुणस्तरमा प्रतिकूल प्रभाव परेको छ । खर्चिलो आँखा प्रत्यारोपण र न्यून आर्थिक स्थिति भएकै कारण रोश्नि फर्काउन सकिने सम्भावना भएका कतिपय दृष्टिविहिनहरू संसार देख्नबाट बञ्चित छन् । बढ्दो यौन दुर्व्यावहार तथा अन्य किसिमका हिंसाहरूबाट दृष्टिविहिन महिलाहरू बढि असुरक्षित छन् । समाजको आम महिला प्रतिको धारणाका कारण दृष्टिविहिनहरू गम्भिर मानसिक तनावबाट ग्रसित हुदा पनि न्यायको पहुँचमा आउन सक्दैनन् ।  लामो कानुनि संरचनाले दृष्टिविहिनहरूको न्याय खोज्ने बाटो थप जटिल देखिन्छ । प्रतिस्पर्धाको कुरामा सबैलाई एउटै तराजुमा राखेर मूल्याङ्कन गर्ने परिपाटिले उनिहरुको सहभागिता र प्रतिनिधित्वमा नकारात्मक प्रभाव पारेको देखिन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धि तथा स्वयैच्छिक प्रोटोकल २००६ को धारा २४ को उपधारा ३ मा “पक्ष राष्ट्रहरूले अपाङ्गता भएको व्यक्तिहरूलाई  शिक्षामा निजहरूको पूर्ण र समान सहभागितालाई सहज बनाउन र समुदायको एक सदस्यको रुपमा जिवन र सामाजिक विकासका सिपहरू सिक्न सक्षम बनाउने छन्” भनि उल्लेख गरिएको छ । तर दृष्टिविहिनहरूको लागि नेपालमा खासै मैत्रि वातावरण बनाएको देखिदैन । एक तह तल्लो परिक्षा सहयोगि राख्नुपर्ने र गुणस्तरिय शिक्षामा ध्यान नदिई साङ्ग संग भिड्नुपर्ने, दृष्टिविहिन मैत्रि संरचनाको अभाव, परिक्षा र मूल्याङ्कन प्रणालिमा आवश्यक सुधार नगरिनु, आदि विभिन्न कारणले नेत्रहिनहरू विद्यालय सम्म आएपनि धेरैजसो क्षेत्रमा पछाडि परेका छन् । स्पष्ट नितिको कमिका कारण यसको असर क्षमताको प्रदर्शन र उचित रोजगारिमा परेको छ । तसर्थ सम्पूर्ण नेत्रहिनहरूको साझा प्रतिनिधिको रुपमा नेपाल नेत्रहिन संघले यस प्रकारका समस्याको निराकरण गर्न बहु आयामिक भुमिका खेल्नुपर्दछ ।

माथि चर्चा गरिएका दृष्टिविहिनहरूका विभिन्न दृष्टान्तहरूबाट नेपाल सरकारले दृष्टिविहिन व्यक्तिहरूको सशक्तिकरण र विकासमा उल्लेखनिय भुमिका निभाउनुपर्ने तथ्य उजागर भएको छ । दृष्टिविहिनको क्षेत्रमा काम गर्ने संस्थाहरु मध्य नेपाल नेत्रहिन संघ एउटा विशुद्ध दृष्टिविहिनको मात्र क्षेत्र अङ्गालेर काम गर्दै आएको संस्था हो त्यसैले नेपालका दृष्टिविहिनको प्रतिनिधित्वको रुपमा रहेको यो संस्थाले आम दृष्टिविहिन प्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न कुशल र तिब्र चालकको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति र सवलाङ्ग बिचको भेदभाव हटाउन संयुक्त रुपमा सहभागि हुने कार्यक्रमहरू फरक क्षमता भएकाहरूको लागि कार्यरत संस्थाहरूले गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारले छुट्टै दृष्टिविहिन मैत्रि विद्यालय बनाउने भन्दा अन्य विद्यार्थी अध्ययन गर्न सक्ने विद्यालयमा नै समायोजन गराउने कुरामा जोड दिनुपर्छ । दृष्टिविहिनहरूको विद्यालय आवतजावतलाई सरल बनाउन आवास सुविधा थप गरि कार्यन्वयनमा सक्रियता देखाउनु पर्छ । ब्रेल तथा श्रव्य पुस्तकको उत्पादनमा सुधार गर्न आवश्यक जनशक्ति र प्रविधिको विकास गर्नुपर्छ । वैचारिक भावनामा निकटता ल्याउन एकका लागि सबै र सबैका लागि एक भन्ने भावनाको विकास गराउनुपर्छ । पुरातन सोच हटाउन सामुहिक अन्तरकृया, गोष्टि र अन्य रचनात्मक कार्यक्रम समुदाय स्तरमा अभिभावकहरूको सहभागितामा सञ्चालन गर्नुपर्छ । आँखा प्रत्यारोपणका लागि लाग्ने खर्चको व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकाय सँग आवश्यक समन्वय गरि आँखा दान गर्नेलाई प्रोत्साहान गर्ने तथा प्रत्यारोपण निसुल्क गर्ने व्यवस्था मिलाउनुपर्छ ताकि सरकारले अपाङ्ग भत्ताको नाममा खर्च गर्ने अरबौँ रुपैयाको भारमा कमि आउन सकोस् । यसका लागि तिनै तहका सरकारहरूले आफ्नो बजेटको केहि हिस्सा आँखा अस्पताललाई निरन्तर उपलब्ध गराउदै जानुपर्छ । दृष्टिविहिनहरू सम्बन्धि सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने कुरा जस्तै समता, प्राथमिकता, नम्रता, स्पष्टता र बोलाइ सम्बन्धि कुरामा सम्बन्धित कर्मचारिलाई अभिमुखिकरण तालिम दिनुपर्छ । डिजिटल सुचना प्रणालिको जडान एवम दृष्टिविहिन मैत्रि संरचनाको निर्माणमा विशेष प्रोत्साहान दिने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसका लागि दिगो विकास र वातावरण मैत्री भौतिक संरचना निर्माणको अवधारणालाई सरकारले कडाइका साथ लागु गर्नुपर्छ । तथ्याङ्कको अध्यावधिक गरि सोहि अनुपातमा योजना बनाइ कार्यन्वयन गर्न सक्नुपर्छ । रोजगारिमा थप समावेशिकरण गर्न जोड दिनुपर्छ । प्रतिस्पर्धा, मुल्याङ्कन पद्दति, कानुनको सहि कार्यन्वयन र सुधारमा एक गतिसिल अगुवाको रुपमा प्रस्तुत हुन अपाङ्ग लक्षित कार्यक्रम गर्नेहरू चुक्नु हुँदैन । हरेक दृष्टिविहिनले ऊ दृष्टिविहिन भएकै कारण कुनै पनि किसिमको अधिकारबाट बन्चित हुन नदिन नेपाल नेत्रहिन संघ एक जागरुक कार्यन्वयनको संयन्त्र सुत्रको रुपमा उभिनुपर्छ र नेत्रहिनको सशक्तिकरण र विकासमा नियमित तथा संयोगिक आधारशिलाको भुमिका खेल्नुपर्दछ । आफ्नो अपाङ्गता अभिव्यक्त गर्ने र अधिकार उपयोग गर्न प्रति प्रश्न समेत उठाउन सक्ने बनाउन व्यक्तिको आत्मविश्वास बढाउने किसिमका गतिविधि सबै संस्थाहरूले प्राथमिकतामा राखि सञ्चालन गर्न सक्नुपर्छ ।

विद्यालय तथा समुदाय स्तरमा अपाङ्गता समस्या वा चुनौति होइन कि यो त विभिधता हो भन्ने धारणाको ज्ञान दिनुपर्छ । त्यसका लागि सापेक्षित रूपमा सबै व्यक्ति पहुँचको आधारमा कहिँ न कहिँ असक्षम वा अपाङ्ग हुन्छन् भन्ने शन्देश प्रभावकारि तरिकाले प्रसारण गर्न सबै अपाङ्ग उथ्थानका लागि क्रियासिल पक्षले जोड दिनुपर्छ । यदि यसो हुन सकेमा अपाङ्गताको नाममा खर्चिने धन, समय र अन्य स्रोतको सार्थकता वास्तविक सम्वृद्दिमा परिणत हुन सक्छ र अपाङ्ग दिवस पनि अर्थपूर्ण हुन्छ ।



लेख विक्रम संवत २०७६ मंसिर १८ को काँक्रेबिहार दैनिकको अङ्क र दुल्लु खबर डटकममा प्रकाशित छ ।

Comments