कानुन मन्त्रीलाई चिठि
मिति २०७४-८-१७
आदर्णिय दाजु
नमस्कार
आराम त खै के भनौँ
यहाँहरूमा आराम कुसलताको कामना गर्दछु। विशेष पत्र लेख्नुको कारण त केहि थिएन तर
लामो समय सम्म हाम्रो भेट नहुदा लागेको न्यास्रो मेट्न र म हजुरलाइ भेट्ने
अवस्थामा नभएपनि पत्रको माध्यमबाट हजुरलाइ मेरो हालखबर बताउदै आफ्नो दुख बिसाउन
खोजिरहेकि छु। हजुरले सोध्ने समय नपाएर हो वा चासो दिनै छोड्नुभयो मलाइ कुनै
जानकारि छैन। हजुर समाज सेवा भनेर लागेको दिन देखि नै आज सम्म हाम्रो भेट भएको
छैन। म जन्मजात दृष्टिबिहिन भै जन्मिएँ। ठुलि भएपछि हजुरले तैले पढेर केहि
गर्नुपर्छ भन्नुभएको कुरा मैले अझै सम्झिएकि छु। आज त्यो बेला दिएको ढाडस सम्झिदा
आँसु मात्रै झर्छन्। मेरो सपना ठूलि भएपछि धेरै पढ्ने र उदान्त ज्योति छर्ने भएपनि
गल्लिमा हिड्ने कुकुर जस्ता ती अर्धचेतन मान्छेहरूले मेरो पनि मन छ र मलाई पनि
पिडा हुँदा दुख लाग्छ र मन रुन्छ भन्ने थाहा पाएर पनि आफ्नै सम्वेगमा पत्तो नपाएको
अभिनय गरिरहे अनि दिईरहे घोकन्ते कुरौटे
शास्त्रिय आफु अनुकूल प्रवचन। दाजु हजुरलाइ त हौसला दिनेको कमि छैन होला त्यसैले
यो पत्रमा लेखेको पुरा काहानि पढ्न नपाउदै सुभचिन्तकहरूले "त्यस्तो कुरामा
केको चिन्ता गर्नुहुन्छ हामि छदै छौ नी" भन्नेछन् होला तर तिनै तपाइलाइ हौसला
दिने मान्छेहरू मलाई भित्रैबाट घृणा गर्छन्। म यो हाम्रो समाजका शिक्षाको खोल
ओडेका भद्र भलादमी भनिने बिउझिएर पनि निधाएका बुज्रुकहरूको अगाडि तपाइलाइ दाजु भनि
सम्बोधन गर्न पनि योग्य छैन। किनकि म अन्याय अत्याचारको भुमरिमा परेर कति बेला के
गर्नुपर्छ भन्ने स्मरण शक्ति पनि आधा मात्र थाहा पाउने अवस्थामा जिवन जिउदैछु। मैले
हजुरलाइ पठाएको यो चिठि औपचारिक चिठिका चाङ लाग्ने त्यो टेबलमा देख्दा हजुरको प्रतिष्टामा आँच आएमा
आफ्नि बहिनि सम्झिएर एक पटक क्षमा याचनाको भिक्षा दिनुहुनेछ भन्ने आसा गरेकि छु।
त्यसैले जानि नजानि आफ्ना दुख भोगाइहरुलाइ मसि छर्किदै कागजको पाना
मार्फत हजुर सँग पोख्दैछु।
खै कसरि सुनाउँ यि
मेरा जिन्दगिका नमेटिने काँडाका डोबका काहानि। दशैँ तिहार जस्ता चाड पर्वमा समेत
घर आउनुहोस भन्दा तिमिहरू जस्ता धेरै बहिनिको हितका लागि काम गर्दैछु भन्नुहुन्थ्यो।
आज म अनेकौँ दुरव्यवाहार र अपमान सहेर बस्दा पनि म जस्ताको लागि कहाँ छ त्यो
हजुरले बनाएको कानून अनि कहाँ छन् ती मान्छेहरू जसले कानून लागु गर्ने देखि सबै
निवेदन दर्ता गर्ने सम्मको दायित्व लिएका हुन्छन् अरे। दाजु, तपाइले उहालाई उजुरि
हाल्नेलाई सम्मान गर्नुपर्छ भनि सिकाइदिनुहोस; सारा स्त्री जगतलाई यौन प्यास पुरा
गर्ने ठाउँ सोच्नेहरुको चेतना फेरिदिनुहोस; मलाई भनिदिनुहोस दाजु ती मान्छे जसले
दुरव्यवहार गर्दै आदर्श र सहयोगका शास्त्र रटि दयाको भिक्षा दिन जानेका छन्; म सके
सजाय दिलाउँला नत्र आफै सजाय काटुँला। मरेसमान भई जिउने यो बहिनिका कुरा मन भरि
धेरै छन्। सायद सजिलै दाजुलाई भेट्न पाउदिन भन्ने लागेर यो चिठिको साहाराले केहि
कुरा लेख्दैछु। म कहाँ जाउँ र के गरुँ। समाजका केहि मान्छेहरु सन्तान नहुनेको धर्म
राखिदिनुपर्छ अरु केहि गर्न सक्तिनस् भन्छन्; हिजो फलाना सङ्ग हिडेकि थिईस उसै सँग
जानु भन्छन्; महिलाहरूको सबै अङ्गमा आनन्दको वास्ना लिने बाहेक अरु कुनै उपयोगिता
छैन झैँ गरि हेर्छन्। दाजु हजुरले नै भनिदिनुहोस् के मेरो मन होइन? के मेरा मनका
इच्छा अनुसार म बाँच्न नपाउने हो? के मेरो बारेमा निर्णय गर्ने अधिकार म भन्दा बढि
कसाइँघर र पैसा संग हुन्छर? कुनै समयमा आँखा नदेख्नेहरूले पनि धेरै गरेका हेलेन
केलर र स्टिफन हकिङ्सका कथा सुनाउदा म दृष्टिविहिनतालाई अवसर सम्झि गर्भले छाति
फुलाउथेँ तर आज मेरो यहि कमजोरिलाई समातेर अरुले म जस्तालाई गर्ने हिंसाको हतियार
बनाउदा म दृष्टिविहिनतालाई प्रकृतिको ठूलो अभिसाप सोचिरहेकि छु।बाह्य आँखाले संसार
देख्न नसक्नुको पिडा कति हुन्छ त्यो म जस्तालाई मात्रै अनुभव छ। तपाइको र मेरो
शरीरमा बगेको समान रातो रगतले त्यति कुरा नसोचेपनि भावनात्मक, मानविय र कानूनि
उपचारको हिसाबमा एक अबोध बहिनिको यति पिडाहरू पढेर तपाइले एक जिम्मेवार भाइको
नाताले केहि पहल गर्नुहुन्छकि भन्ने आसा लिएकि छु। धेरै सङ्घर्ष गरि मात्र
विद्यालयमा पुगेर अनिश्चित भविष्यको कल्पना गर्दै; सकि नसकि हात्ति सङ्ग मुसा
भिडाएको आरक्षण कोटामा प्रतिस्पर्धा गर्दै; अरुलाई सिकाउदै हिड्ने दार्शनिकहरूबाटै
अशुरक्षित र भयभित हुँदै कति जोगाउँ आफ्नो
अस्तित्व र समाजले भन्ने गरेको कुमारित्व अनि नारित्व। मलाई यो समाजमा मेरो
अधिकारका लागि भाषण दिने मान्छे चाहिएको छैन। दाजु मलाई मेरो आत्मासम्मान सहितको
अधिकारका लागि लडिदिने सहारा चाहिएको छ।
आदरणिय दाजु जे मैले भोगेँ र जसरि म
बाँचिरहेकि छु त्यसरि अरुले बाच्नु नपर्ने गरि कानून बनाउन कसले रोक्यो हजुरलाई?
बलत्कार गरेमा पैसा तिराउने र अपराधिलाई छुट दिने कानूनि व्यवस्था त हजुरले
गर्नुभयो तर दाजु एक पटक सोचिदिनुहोस् । शरीरका घाउहरू निको होलान् तर मस्तिष्कमा
लगाइएको जिन्दगिलाई असर पर्ने चोट र समाजको नजरमा उसले गल्ति नगरेपनि सजायको रूपमा
देखिने गरि लागेको दाग करोडौँ पैसा तिराएपनि मेटिदैन। अन्यायमा परेकि बहिनिलाई
वास्तविक न्याय दिलाउनुहुन्छ र म बहिनिका कुरा सुन्नुहुन्छ भने यस्ता हिंसा
गर्नेलाई पैसाको धरौटिमा छुटाउनुभन्दा आजिवन कारावासको व्यवस्था गर्न पछि नहट्नु
होला। म मात्र होइन देशका सबै बहिनिहरूले भनिरहेछन्, अब सोच्ने बेला भएको छ; इजत र
प्रतिष्ठाको मुल्य पैसाले कदापि चुक्ता हुन सक्दैन। म बाँचेर यो मेरो देश, समाज र
आफ्नो परिवारका लागि केहि सकारात्मक शन्देश दिने कर्म गर्न चाहान्छु। मेरो यो
इच्छा पुरा गर्न त्यति बेला मात्र सम्भव छ जब हजुरले देशमा अहिले जस्तै कानून मन्त्री
भएर हाम्रो लागि राम्रो कानून बनाउने र चेतना फैलाउदै आफ्ना बहिनिहरू सुरक्षित छन्
भन्न सक्ने स्थिति हुन्छ। आफु माथि पैसाको आडमा जति अन्याय गरेपनि पैसामुखी कानूनी
फैसलाबाट अपराधि खुलेआम समाजमा पहिलेकै चरित्रमा हिडेको देख्दा पीडितको पीडा झन्
बल्झिन्छ। त्यसैले महिला हिंसा गर्नेलाई कुनै हालतमा पनि पछि त्यो काम नगर्ने
बनाउनुभयो भने देखि धेरैले आफ्नो लागि मलम सँगै न्याय पाएको महसुस गर्नेथिए। दाजु
हजुरले यसमा मलाई साथदिनुहुन्छ भन्ने पूर्ण आसा लिई यो पत्र प्रेषित गरेकि
छु।
मनका वेदनाहरू लेख्दालेख्दै पत्र धेरै लामो हुन पुगेछ। हजुर आफै जानकार
हुनुन्छ । चुनावमा सुरक्षा राम्रै छ भन्छन् तर बम बिस्फोटन हुन छोडेको छैन त्यसैले
त्यस्ता कुराहरुबाट आफु जोगिनु होला र अरुलाई पनि जोगाउनु होला। म बहिनिले आउँदो
तिहारमा भाइमाला र विजयको माला दुवै लगाउन पाउँ। यो दुखारि बहिनिको तर्फबाट नेपाल
पशुपतिनाथको नाममा हजुरले आँटेका हरेक काममा शुभकामनाको सदिक्षा सधै रहिरहने छ। अन्त्यमा
लेखाइमा कुनै त्रुटि भई अनर्थ लाग्न गएमा आफ्नि बहिनि सम्झिएर क्षमा गर्नुहोला। बाकि
कुरा अर्को पत्रमा लेख्ने वाचा गर्दै यो पत्रबाट विदा हुन्छु, उहि हजुरकि बहिनि
जाइका।
उहि
हजुरकी प्यारी बहिनी
जइका
यो सामग्री विक्रम संवत २०७४ मंसिर १७ गते सोमबारको सुर्खेत पहिचान दैनिकको अङ्कमा प्रकाशित छ ।
यो हो नि वास्तविक पीडा
ReplyDelete