सहिदहरू प्रति
मलाई फेसबुकमा लाइक गर्नुहोस् / मलाई टुइटर खातामा पछ्याउनुहोस्
आफ्नो राष्ट्रका लागि योगदान दिने क्रममा राष्ट्रहितका नाममा ज्यान गुमाउने महान व्यक्तिहरू सहिद हुन्। राष्ट्रमा आर्थिक, सामाजिक तथा राजनैतिक आदि परिवर्तन ल्याउने क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद भन्दछन्। सहयोगको मूल्य हुँदैन। त्यसैले सहिदको बलिदान र त्याग अमूल्य छ। नेपाल र नेपालिको शिरलाई माथि उठाउन अन्याय र अखण्डताको लागि एक भएर मरेकाहरू सहिद हुन्। अर्थात देशका हितका खातिर आफ्नो ज्यान अर्पण गरेर मृत्यु वरण गर्नेलाई सहिद भनि चिनिन्छ। बलभद्र कुँवर, भक्ति थापा, अमर सिंह थापा, धर्म भक्त माथेमा, गङ्गा लाल श्रेष्ठ, शुक्र राज शास्त्री र दशरथ चन्द जस्ता महान देश प्रेमि तथा राष्ट्र भक्तिहरूको योगदानले नेपालको भुमि जोगिएको मात्र छैन सुधारिएको संसदीय सासन प्रणाली सहितको संघीय गणतान्त्रिक नेपाल बनेको छ। राणा सासन हटाउने देखि प्रजातन्त्र ल्याउन र राजतन्त्र अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र ल्याउन वीर नेपालीहरूले ठुला लडाइँ र आन्दोलन गर्नुपर्यो। यस क्रममा २०००० भन्दा बढि व्यक्तिले नेपालमा शान्ति, शुसासन र समानता सहितको सर्वमान्य व्यवस्था ल्याउन अतुलनीय तन र मन दिएको तथ्य विद्यमान छ।
धेरै जना घाइते अवस्थामा देशको नेतृत्वको
उपेक्षात्मक कदमको दृश्यमा बाँचिरहेका छन्। यसरी देशका लागि मर्ने व्यक्तिलाई
नेपाल सरकारले सहिद घोषणा गरि विभिन्न किसिमका राहातको नाम प्रचारप्रसार गर्दै
आएको छ। यद्यपि सहिदका लागि दश लाख रूपैयाँ दिने बाहेक अरू खासै दिर्घकालिन
राहातहरूको व्यवस्था गरेको पाइँदैन। साथै जो पायो तेहिलाई सहिद घोषणा गरि दश लाख
दिने प्रतिस्पर्धाले दलीय प्रतिस्ठाको रूप लिदैगरेको पाइन्छ। तत्कालिन स्वार्थलाई
हेरेर रू. दश लाख दिने र त्यसपछि पञ्छिने प्रवृति बढ्दो क्रममा रहेको छ। तसर्थ देश
भक्तिका सन्तान र आफन्तलाई अनुभव हुने गरि दिर्घकालिन योजना बनाइ कार्यन्वयन गर्नु
अति आवश्यक छ। यसले देश प्रेमलाई नागरिक स्तरमा बढाउन समेत सघाउ पुर्याउछ।
राणाकालमा
स्वतन्त्रता चाहियो भनि अधिकारको माग गरेकै कारण तत्कालिन राणा सरकारले होनाहार
चार युवालाई मृत्युदण्ड दिने सजाय सुनायो। उनिहरूले त्यसको कुनै प्रतिवाद गरेनन्।
देशको मुहार फेर्ने आकांक्षाले प्रेरित सासन प्रणालिमा सुधार ल्याउन तयार ती महान
सहयोद्दाहरूलाई १९९७ माघ १० देखि माघ १६ गते सम्म विभिन्न मितिमा निर्दयी राणा
सरकार द्वारा मृत्युदण्ड दिईयो। दशरथ चन्द, धर्म भक्त माथेमा, गङ्गा लाल श्रेष्ठ र
शुक्र राज शास्त्रीको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाउने चलन प्रजातन्त्र आएपछि
चलिआएको छ। यद्यपी ती सहिदले आफ्नो योगदानलाई १०००००० (दश लाख) रुपैयामा हेरेर गरेका
थिएनन्। समग्र देशको कल्याणका निम्ति जस्तो सुकै सहयोगि योगदान दिन पनि पछि
पर्नुहुँदैन भन्ने पाठ सिकाएका सहिदका सपनाहरूलाई दश लाखमा भुल्याउने चेस्टा
गरिएको छ। नेपाली भएकोमा गौरव गर्ने वातावरण बनाउने सहिदहरूको खोल अरूलाई बाँड्दा
सहिद र अरूमा खास फरक हुँदैन। यसले सहिद बनाउने प्रक्रियालाई कागजी दस्तावेजमा
केन्द्रित गर्दै सहिदको परिभाषामा साँगुरोपन ल्याउने बाहेक केहि गर्न सक्दैन।
सहिदको नाममा सालिक ठड्याउनेहरू मालिक बनेका छन्।
अमुल्य सहिदहरूको योगदानलाई लिलाम गरेको शैलिमा दश लाखको प्याकेजले किनारा
लगाइएको देखिन्छ। वास्तविकता अझै बिडम्बनापूर्ण छ किनकि जसले आफ्नो सबै इच्छा र
स्वार्थहरू त्याग गरि देशको हितमा मर्यो उसको लागि देशले मुस्किलले एक मिनेट
छुट्याउने गरेको छ। आफ्ना कार्यकर्तालाई विपन्नता, औषधि उपचार लगायतका नाममा अरबौँ
रूपैयाँ दिने सरकारले सहिदका परिवारलाई सधै दश लाखले पुग्छ भन्ने मानसिकताले
व्यवहार गरेको देखिन्छ। यस प्रकारका कुराहरूबाट सहिदका आफन्तहरूलाई पर्ने निराशाको
आघातलाई सरकारी बागडोर समाल्नेहरूले गम्भिरता पूर्वक लिनुपर्छ।
सम्मान मरेकालाई होइन मरेर पनि बाँच्नेहरूको अमर व्यक्तित्वको हितमा हुनुपर्छ। पछिल्ला केहि तथ्यहरूले यस भनाइको उपहास भएको आभास हुन्छ। वास्तविक सहिदहरूका परिवारहरू आफ्नो मान्छे देशका लागि मरेको हो भन्न लज्जित छन् तर जिन्दावाद र मुर्दावादका नाराको दबावमा सहिद बन्नेहरूको क्रमले निरन्तरता पाएको देखिन्छ। दलगत दबावमा गाडि दुर्घटना सँग जोडिएका मृत लासलाई सडकमा राखेर चक्काजाम गरि सहिद बनाइन्छ। यस प्रकारका गतिविधिहरूले सहिदको ठूलो अवमूल्यन हुनुको साथै सहिदका परिवारको समग्र स्थितिमा सुधार ल्याउन प्रतिकूल असर परेको छ। पैसाको नाममा निश्चित रकम दिएर जिम्मेवारि सकिएको ठान्ने सम्बन्धित सरोकारवालाहरु २००७ फाल्गुन ७ गते अगाडिको नेपाल र २०१७ पौष १ गते देखि २०४७ साल सम्मको नेपाललाई इतिहाँसको पानामा बदल्ने व्यक्तित्वको मूल्याङ्कन गर्न धेरै पटक चुकेका छन्। सहिदको सम्झना गर्न माघ १६ गते पर्खिनुपर्ने स्थिति बनेको छ। किनकि जुन चिजको मूल्य हुन्छ त्यसको खासै महत्व रहदैन। यसलाई मधेश आन्दोलनका सहिद घोषित व्यक्तिको उदाहारणले थप स्पष्ट पारेको छ। नेतृत्वकर्ता भनेर चिनिने मधेशिहरूको शब्दमा फुर्सद नभएकोले खासै कार्यक्रम गर्न पाइएन भन्ने वाक्यांस सुनिन्छ।
के देशका लागि होस या मधेसको लागि होस न्यायपूर्ण सङ्घर्षमा
ज्यान गुमाउन उनिहरूले फुर्सद मागेका थिए? सत्ताको त्यागि सम्झिनेले देश प्रेमिको
त्याग र समर्पण सम्झिने खालि समयको प्रतिक्षा गर्नुपर्छ भनेको सुन्दा ती सन्तानको
मनमा कस्तो प्रभाव पर्छ? प्रश्नहरू विचारणिय छन्। पछिल्लो समय देखापरेका
गतिविधिहरूले सहिदको परिभाषा नै बदलेका छन्। जसले पार्टिमा योगदानको नाममा आर्थिक
सहयोग गर्छ; अन्ध भक्त भै दलकै भजन किर्तन गर्छ उसलाई खोजि खोजि सहिदको उपाधि
दिलाउने होडवाजि चल्न थालेको छ। मन्त्रि परिसदको २०७४ पौष ३ गतेको वैठकमा गोजिबाट
सहिद घोषणा सुचि झिकेर गरिएको निर्णयको कुरालाई एक ज्वलन्त उदाहारणका रूपमा लिन
सकिन्छ। यसले सहिद कसलाई बनाउने भन्ने कुरा कुनै आधिकारिक समिति वा मन्त्रालय र
विभागमा नभई सांसद तथा काम चलाउ पराजित मन्त्रिका गोजिमा रहेको हुन्छ भन्ने तथ्य
उजागर गरेको छ। अर्थात सहिद बन्न जस्को शक्ति उसकै भक्ति भन्ने सिद्दान्तलाई
अवलम्बन गर्दैगएको पाइन्छ। नेपालमा देशका लागि गरेको योगदानको कदर हेरि नभई दश लाख
पाउन र आफ्नो कार्यकर्ताहरूको मन राख्न सहिदको खोल ओडाइन्छ। देशका लागि ज्यान
दिनेलाई सबैले चिन्छन् तर दलगत सरकारको पालामा आफ्ना कार्यकर्ताको दबावमा हुने
सहिदलाई धेरैले चिन्दैनन्। गत पौष ३ गते गरेको सहिदघोषणाको सुची पनि सार्वजनिक हुन
१ महिना लाग्यो। अर्थात अब सहिद हुन देशका लागि केहि गर्नुपर्दैन कुनै राजनैतिक
दलको माथिल्लो तहको मान्छेको मन रिजाएर सार्वजनिक स्थानमा मरेहुन्छ; स्वर्गमा सहिद
भइन्छ।
देशलाई सम्वृधिको बाटोमा डोहोयाउने आसा, सपना, भावना, रहर वा जेसुकै
कुराबाट ओत्प्रोत भएपनि नेपालको अस्तित्व बचाउन लागिपर्नेहरू सहिद हुन्। देशका
लागि निस्वार्थ समर्पित नेपालिहरू सहिदको सुचिमा अटाउनुपर्छ। सबैलाई त्यो सुचिमा
राखेर अपबित्र बनाउने कोसिस गर्नुहुँदैन। यदि यहि परम्पराले निरन्तरता पाएमा
भोलिका दिनहरूमा सहिद परिवारका पनि छुट्टै सङ्गठन खुल्ने छन र वैचारिक आस्थाका
आधारमा सबैको सहिद बन्ने पालो आउने छ तर यसले प्रादेशिक, जातिय र सङ्घीय स्वार्थका
लागि लड्नेहरुको सपनामा इट्टा थप्न मुस्किल पर्ने निश्चित छ। प्रत्येक पार्टिले
आफ्ना निकट व्यक्तिलाई सुचि झिकेर सहिद बनाउदै १० लाख बाँडेर परिवारको तत्कालिन
समस्या समाधान गर्ने हो भने एकातिर राष्ट्रको ढुकुटि सहिदको नाममा खेर जान्छ भने
अर्को तर्फ वास्तविक सहिदहरूका आफन्तले देशका सरकार प्रति कहिलै अपनत्व महसुस गर्न
सक्ने छैन। सहिदका परिवारको लागि सरकारले १० लाख दिएर पञ्छिनु हुँदैन। उनिहरूका
लागि आजिवन रोजगार र अन्य सुविधाको सुनिश्चितता दिलाउन सक्नुपर्छ। सहिद घोषणा गरेर
सार्वजनिक समेत गर्न हिच्किचाउने प्रवृतिको अन्त्य गर्न वास्तविक देश प्रेमिलाई
देश भक्तिमा समर्पित भएवापत मात्र सहिदको नामाकरण गरिनुपर्छ। नेपालमा सहिदको
पहिचानको लागि सामान्य मापदण्ड समेत नबनाइएको हुँदा व्यक्तिगत दबावको सहजै प्रभाव
परेको तथ्यलाई मनन गर्दै यथासक्य न्युनतम सहिद सुचक बनाउनुपर्छ र सहिद घोषणामा
त्यसलाई प्रमुख आधार मान्नुपर्छ। सहिद घोषणा गर्ने अधिकार राष्ट्रिय पदविभुषण
समिति बनाइ उक्त समितिलाई प्रत्यायोजन गर्नुपर्छ। वास्तविक सहिदको पहिचान गरी
तिनिहरूका परिवारको दिर्घकालिन जिवनयापनको लागि जस्तोसुकै सङ्कटकालमा पनि नेतृत्व
तयार र उदार रहनुपर्छ।
यो लेख विक्रम संवत २०७४ साल माघ १६ गते सोमबार तदनुसार२९ जनावरी, २०१८ को सुर्खेत पहिचान दैनिकको अङ्कमा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!