अपाङ्गता र चुनौति
अपाङ्गता र चुनौति
मलाई फेसबुकमा लाइक गर्नुहोस् मलाई टुइटरमा पछ्याउनुहोस्
अपाङ्गता एक प्रकारको दुरगुण हो। हाल विश्वमा
बिभिन्न कारणहरूबाट यस्तो कमजोरि मान्छेहरूमा वृद्धि भैरहेको देख्नसकिन्छ। सामान्य
बोलिचालिको अर्थमा कुनै पनि किसिमको प्रतिकूल कमजोरिलाई अपाङ्गता भन्नसकिन्छ। यस
अर्थमा मान्छेमा एक वा सो भन्दा बढि दिर्घकालिन वा अल्पकालिन असक्तता अथवा कमजोरि
हुनसक्दछन त्यस्ता व्यक्तिहरू अपाङ्गहरू हुन्। कुनै पनि व्यक्ति अपाङ्ग भैसकेपछिको
स्थिति तुलनात्मक रुपमा केहि जटिल अवस्थाबाट गुजार्नु पर्ने हुन्छ। यसका पछाडि
थुप्रै कुराले भुमिका खेलेको हुन्छ जस्तै घरायसि अवस्था, समाजको ऊ प्रतिको सामाजिक
दृष्टिकोण राज्यले गर्ने नितिगत देखि अधिकार र अवसरको पहुच आदि। छोटो र स्पष्ट
रुपमा अपाङ्गतालाई एउटा वंशाणुगत र मानविय त्रुटि लापर्वाहिले सिर्जना हुनसक्ने
तत्कालिन र दिर्घकालिन समस्या हो भनि बुझ्दा युक्ति संगत हुनसक्छ। केहि मात्रामा
समाधान भएपनि धेरै व्यक्तिमा यो समस्या देखिएपछि निमिट्यान्न पार्न कठिन हुन्छ।
अपाङ्गतालाई शाब्दिक अर्थमा परिभाषित गरेर एक वाक्यमा अटाउन सकिदैन किनभने यो एक
विशाल र जटिल अवधारणा हो। अपाङ्गताले देख्नसकिने शारिरिक अवस्थाको कमजोरिदेखि
अदृश्य बौद्धिक अवस्था सम्मको क्षेत्रलाई ओगटेको छ त्यसैले यो एक व्यापक चासोको
विषयका रुपमा लिनुपर्ने क्षेत्र हो। अपाङ्गतालाई बहुसङ्ख्यकले स्विकार्ने गरि केहि
संस्था तथा व्यक्तिहरूले बिभिन्न रुपमा परिभाषित गरेको पाइन्छ। ती परिभाषाबाट पनि
अपाङ्गता शब्दको अर्थलाई बुझ्न र यसको बिभिन्न पक्ष सम्बन्धि सम्भावित अनुमानहरू
लगाउन सकिन्छ। अपाङ्गताको बारेमा गरिएका केहि महत्वपुर्ण निकायका परिभाषाहरु यस
प्रकार उल्लेख गर्नसकिन्छ।
संयुक्त राष्ट्र संघबाट अपाङ्गता भएका
व्यक्तिहरूको अधिकारका लागि जारि अन्तराष्ट्रिय सन्धिलाई हाम्रो देशले पनि अनुमोदन गरेको छ। संयुक्त
राष्ट्र संघको ६१औ महासभाबाट सन २००६ डिसेम्बरमा पारित भै संसारका अधिकांस देशले
लागु गरेको उक्त अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धि र स्वऐच्छिक
प्रोटोकल २००६ को धारा १ मा यस प्रकारले अपाङ्गतालाई परिभाषित गरिएको छ “अपाङ्गता भएका व्यक्तिहरू भन्नाले दिर्घकालिन
असक्तता द्वारा सिर्जित शारिरिक, मानसिक, बौधिक वा इन्द्रिय सम्बन्धि कमजोरिहरू
तथा तिनको बिभिन्न अवरोधहरु संगको अन्तरकृयाको कारणले समाजमा अन्य व्यक्तिहरू सरह
समान आधारमा पुर्ण र प्रभावकारि ढंगमा सहभागि हुन बाधा भएको व्यक्ति समेतलाई जनाउछ”। यसै परिभाषाको अधिनमा रहि नेपालले पनि बिभिन्न
ऐनहरूमा अपाङ्गता र यसका केहि शब्दावलिको स्पष्स्ट परिभाषा गरेको छ। अपाङ्गता भएका
व्यक्तिहरूको अधिकारका लागि केहि समयदेखि निरन्तर वकालत गर्दै आएको राष्ट्रिय
अपाङ्ग महासंघको विधान २०५० चौथोसंशोधन २०७१ ले महासंघको विधानको परिछेद १ को दफा
२ खण्ड घ मा अपाङ्गता भएको व्यक्तिलाई यसरि परिभाषित गरिएको छ। “अपाङ्गता भएको व्यक्ति भन्नाले शारिरिक, मानसिक,
बौद्धिक वा ज्ञानेन्द्रियसम्बन्धि दिर्घ असक्तता द्वारा सिर्जित बिभिन्न अवरोधहरू
संगको अन्तरकृयाको कारणले समाजमा अन्य व्यक्ति सरह समान आधारमा पुर्ण र प्रभावकारि
ढङ्गमा सहभागि हुन बाधा भएको व्यक्ति सम्झनु पर्छ”। यसैगरि उक्त विधानको परिछेद १ को दफा २ को खण्ड घ १ मा अपाङ्गता
शब्दलाई यसरि परिभाषा दिएको छ। “अपाङ्गता भन्नाले
शारिरिक अङ्गहरू र शारिरिक प्रणालिमा भएको समस्याको कारण भौतिक, सामाजिक
सांस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोध समेतले दैनिक कृयाकलाप
सामान्य रुपमा सञ्चालन गर्न एवम सामाजिक जिवनमा पुर्ण सहभागि हुन कठिनाइ हुने
अवस्था सम्झनु पर्दछ” ।
माथिका परिभाषालाई केलाउदा निस्कर्षमा अपाङ्गता
भन्नाले आफ्नो दैनिक कृयाकलापहरूदेखि समाजका हरेक क्षेत्र र तहमा पुर्ण रुपमा
सहभागि हुन प्रतिकूल देखिने वंशाणुगत, मानविय लापर्वाहि र आकस्मिक दुर्घटनाबाट
सिर्जना भएका सम्पुर्ण अवरोध वा बाधाहरूलाई लिन सकिन्छ। यस्तो प्रतिकूल स्थितिबाट
प्रभाव परेका सबै व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिहरू वा अपाङ्ग हुन्। अर्को
शब्दमा समाजमा अरु सांग सरह निरपेक्ष वा सापेक्ष रुपमा आफ्ना दैनिक तथा आकस्मिक
कार्यहरूको सम्पादन तथा नियन्त्रण गर्नको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा
अनिवार्य अरुको सहयोग लिनुपर्ने व्यक्तिहरूलाई अपाङ्ग भन्न सकिन्छ। यहाँ सम्पादन
भन्नाले कतिपय व्यक्तिमा सम्वेगात्मक अस्वस्थता पाइन्छ। यसै कारण केहिले आत्माहत्या
समेत गर्ने गरेको देखिन्छ। जिवनका निर्णयात्मक क्षणहरूमा उचित कदम चाल्न नसक्ने
व्यक्ति मानसिक रुपमा आफ्नो व्यवहारका कृयाकलापहरूको सम्पादन तथा निर्देशनमा असफल
भएका थुप्रै तथ्यहरू सुदुर तथा मध्यपश्चिममा पाउन सकिन्छ।
अपाङ्गता आफैमा समस्या होइन तर यसलाई बोझको रुपमा
लिने गर्नाले यसले धेरै ठूलो समस्याको रुप लिएको देखिन्छ। असाहाय व्यक्तिहरूलाई
सहयोग आवश्यक पर्नु स्वभाविक हो तर तिनिहरूलाई सम्मान र अवसर सहितको हौसला पनि
त्यतिकै जरुरत पर्दछ। जसरि एउटा मान्छेलाई सबैले पागल भनि बोलाउदा अन्तमा ऊ
वास्तविक पागल कहलिन्छ त्यसैगरि अपाङ्गतालाई पनि जुन रुपमा सोचेर व्यवहार गरिन्छ
सोहि अनुसार सहज र असहज वातावरणको निर्माण हुदै जान्छ। यस कुरालाई गम्भिरता पुर्वक
लिई अपाङ्गता भएकाहरूलाई उचित काम दिन राज्यले ठोस कदम चालेको पाइदैन। पछिल्लो समय
वर्गिकरण गरि राज्यले क श्रेणिका (सबै कार्यहरूमा अरुको सहयोग अनिवार्य आवश्यक
पर्ने व्यक्ति) लाई मासिक रू २००० र ख श्रेणिका (आफ्ना दैनिक कार्यहरू मध्य धेरै
जसो काम आफै गर्न सक्ने) व्यक्तिहरूलाई मासिक रू ६०० भत्ता दिने गरेको छ जुन
अहिलेको दैनिकि र त्यस संग प्रत्यक्ष जोडिएको बजारभाउको तुलनामा अति न्यून छ।
अपाङ्गता भएका व्यक्तिको लागि छुट्याईएका आरक्षण कोटा र त्यसमा प्रवेशका लागि
गराउने प्रतिस्पर्धाको पद्दति पनि अपाङ्ग मैत्रि देखिदैन। उदाहरणका रुपमा
लोकसेवाले सोध्ने चित्र सम्बन्धि प्रश्नहरू, अन्य कक्षागत र तहगत परिक्षामा सोधिने
चित्रात्मक तर अनिवार्य प्रश्नहरूलाई लिन सकिन्छ जुन प्रविधिको कमै पहुच भएको यो
देशमा द्रिष्टिबिहिनहरूका लागि शत प्रतिशत असम्भव जस्तै हो। सम्बन्धित निकायले जो
जहाँ ठिक हुन सक्छ तेहि ठाँउमा उसलाई काम दिएर रोजगारिका साथै आत्मनिर्भर बनाउनु
पर्ने हो तर नेपाल सरकार र च्याउ जस्तै दर्ता भएका अपाङ्गताको क्षेत्रमा कार्य
गर्ने उदेश्य बोकेका हजारौ संस्थाहरूले समेत यो विषयलाई खासै महत्व दिएको पाइदैन।
नेपालमा नितिमा भन्दा कार्यन्वयनमा समस्या हुनु नौलो कुरा होइन। अहिले यस
क्षेत्रमा काम गर्ने संस्थाहरूमा प्रभावकारि समन्वय देखिदैन। यसमा राजनैतिक दलहरूदेखि
अपाङ्गताको क्षेत्र हेर्ने कर्मचारीसम्म सबै उत्तिकै जिम्मेवार हुनु पर्नेमा
झाराटार्ने प्रबृतिले त्यसको ठिक बिपरित परिस्थिति देख्न सकिन्छ। अपाङ्गता भएका
व्यक्तिहरूको अधिकार र पहुचमा केन्द्रित रहि सुर्खेतमा १२ ओटा संस्थाहरू कार्यरत
छन्। गत मंसिर १८ गते ३ डिसेम्बरका दिन छैटौ प्रदेशको राजधानि भनि चिनिने
सुर्खेतमा २५औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइयो तर त्यहाँ देशको बागडोर समातेका राजनेता
ज्यूहरूको उपस्थिति सम्म देख्न पाइएन। अरुको आलोचनामा भाषण गर्ने प्रबृतिले भरिएको
राजनैतिक जगतमा त्यहाँ त्यसको बिपरित बोलि बोल्नुपर्ने भएर पनि यस्तो भएको होला
यद्यपि यो मेरो मात्र बिचार हो तर पद्दति विकासको आसा गर्न सकिने ठाँउबाट प्रतिबद्धता समेत सुन्न पाइएन। हाल
एघारौ जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कूल जनसंख्याको १.९४ प्रतिशत
व्यक्तिहरू अर्थात ५१३९९३ जना कुनै एक वा बहु अपाङ्ग छन्। यो तथ्यलाई हेर्दा दश
वर्ष अघि २०५८ सालको जनगणना अनुसार कूल मानिसको सङ्ख्याको ०.४६ प्रतिशत अर्थात
१०६४९७ जना व्यक्तिहरू मात्र अपाङ्ग थिए। उपयुक्त तथ्याङ्कलाई बिचार गर्ने हो भने
दश वर्षको अवधिमा करिब ४०७४९६ जना व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिको सुचिमा
थपिएका छन्। यसले दैनिक करिब एक सय भन्दा केहि बढि मान्छेहरू अपाङ्ग हुन्छन भन्ने
कुरा स्पष्ट रुपमा उजागर गरेको छ। दिन प्रतिदिन अपाङ्गता भएका व्यक्तिहरूको
सङ्ख्यामा तिब्र वृद्धि भैरहेको भएतापनि
देशले उचित रुपमा अवसर सिर्जना हुने कुनै पनि ठोस पहल नगरेको हुदा गीत
गाउने र बिभिन्न सिफारिस पत्रको साहायताबाट मागेर खानेहरूको सङ्ख्या तिब्र गतिमा
बढेको पाइन्छ। साथै कतिपय व्यक्तिहरूले यसको फाइदा उठाएर अपाङ्गता भएका
व्यक्तिहरूलाई मागि खाने बाटोको रुपमा समेत अपनाउन सक्ने विषय पनि त्यतिकै सोचनिय
छ किनभने यदाकदा सिफारिस पत्रको साहायताले ठगि गर्ने प्रबृति समेत भित्रिएको
देखिन्छ। नितिगत अस्पष्टताका कारण कुनै जिल्लामा अपाङ्गताको क्षेत्रमा सयौँको
सङ्ख्यामा संस्थाहरूको कार्यक्रम सञ्चालित छ भने कुनै जिल्लामा उपस्थिति सम्म छैन।
सरकारले दर्ता गर्ने बाहेक अरु कुरामा खासै चासो दिएको पाइदैन। सरकारि तथा
गैरसरकारि तवरबाट अपाङ्गताको लागि भनेर अरबौ रुपैया खर्च गरिन्छ तर त्यसको पहुच
लक्षित वर्गको वास्तविक व्यक्तिहरू समक्ष पुगेको छ वा छैन भनेर प्रभावकारि अनुगमन
र मुल्याङ्कन कतैबाट भएको छैन। अपाङ्गता भएका हरूका लागि सबै ठाँउमा समानान्तर
ढङ्गबाट कार्यक्रम बितरण हुन नसक्दा कतिपयले पहुचको आधारमा कार्यक्रम सञ्चालन
गर्ने, दोहोरो सुविधा प्राप्त गर्ने, कहि बजेट अपुग हुने त कहि कार्यक्रम नै
नपुगेको देखिएको छ। विशेष गरि बिकटमा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम
गर्ने संस्थाको उपस्थिति न्यून छ। कतिपय कार्यक्रमहरू थोरै बजेटबाट सञ्चालन गरिएको
पाइन्छ। त्यसरि सञ्चालित कार्यक्रमहरूमा अलिअलि गरि अहिले सम्म धेरै रकम खर्च
भएतापनि उपलब्धिको समिक्षा समेत गरिएको छैन। यातायातको क्षेत्रमा काठ्माण्डौ
उपत्यका बाहेक सबै ठाँउमा कानुनले तोकिदिए अनुसार छुट नपाउने, कतिपय चालकहरूले
गाडि समेत नरोक्ने, आदि समस्याहरू भोग्नु परेको छ। विशेष गरि हुइलचियर प्रयोग
गर्ने अपांगहरूलाइ यातायातमा बढि अप्ठ्यारो हुने गर्दछ किनभने कतिपय ट्याक्सि
चालकहरूले उनिहरूलाइ लिन समेत मान्दैनन्। यदि लिएपनि दोब्बर भाडा लिने गर्दछन्। छुट
नदिने समस्या म स्वयमले पनि यात्रा गर्दा धेरै पटक भोगेको छु तिनिहरू मध्य प्रहरीले
यातायात व्यवसाहिलाई मध्यपश्चिम टिकट काउण्टरमा मेरो टिकट काट्दा देखाएको
साहानुभुति अबिस्मरणिय छ। मेरो क्याम्पसको जाँच सकिएपछि भाद्र ३१ गते म टिकट लिनको
लागि मध्यपश्चिम काउण्टरमा गएँ र टुनिबगरको भाडा सोधेँ। काउण्टर वालाले पाँच सय हो
भनेर जवाफ दियो। मैले टिकट काटौँन त भनेँ। कति जना हो भनि सोध्दा मैले म एक्लै हो
छुट छ होला नि भनेर जवाफ दिएँ। उसले मिलाएर चार सय दिनुहोस भन्यो। मैले नियम
अनुसार पचास प्रतिशत हुनुपर्छ भनेर केहि कडा जवाफ दिएँ। काउण्टरवालाले केहि
झर्किदै हाम्रोमा छैन जहाँ छ तेहि जानुहोस भनेर उत्तर दियो। त्यसपछि हामि
काँक्रेबिहार काउण्टरमा गयौँ। मैले पुरानो कुरा दोहोराएर गरेँ। काउण्टरवालाले नरम
शैलिमा हाम्रो गाडि जाने निश्चित छैन भोलि बिहान आउनुहोला म हजुरलाई नियम अनुसार
टिकट काटिदिनेछु भनि जवाफ दियो। मैले हुन्छ भन्दै बाहिरिएँ। मैले प्रहरीको सहयोग
लिएर भएपनि छिटो जाने गाडिमा जानुपर्छ भन्ने लाग्यो। फेरि पछिल्लो गाडिको भरोसा
पनि थिएन। त्यसपछि हामि मङ्गलगढि चोक स्थित ट्राफिक प्रहरी भएको ठाँउमा गयौँ। एक
जना ट्राफिक प्रहरी त्यहाँ उभिनुभएको थियो। मैले नमस्कार गरेर अभिवादन गरेँ र
आफ्नो कुरा भने। मध्यपश्चिम काउण्टर वालाले हामि छुट दिदैनौँ जहाँ पाइन्छ तेहि
जानु भन्यो हामिले नियम अनुसार पचास प्रतिशत सहुलियत पाउनुपर्ने होइन र सर? मैले प्रश्नात्मक पाराले आफ्नो कुरा भनेर
सिध्याएँ। जवाफमा उहाले मेरो अपाङ्ग परिचयपत्र देखाउन भन्नुभयो। मैले तानेर हातमा
दिएँ। हेरेर आफुसङ्गै आउनको लागि भन्नुभयो र मध्यपश्चिम काउण्टरमा जानुभयो। हामि
पनि पछ्याएर तेहि पुग्यौँ। उहाले एक समस्या पर्यो भन्दै कुरा सुरु गर्नुभयो।
तपाइले केहि सहुलियतमा काटिदिनुपर्यो उहा जस्तो मान्छे भएर मात्र म आएको हो भनेर
नम्र शैलिमा कुरा गर्नुभयो। कानुनको रक्षकले पनि मलाई दया देखाउदा मलाई केहि रिस
उठ्यो। त्यसपछि काउण्टर वालाले तिन सयमा काटिदिने कुरा गर्यो। यति सुनिसकेपछि प्रहरी
आफ्नो ठाउ तिर लाग्नुभयो। अन्तमा नचाहेरै मैले तिन सयमा टिकट काटेँ र कोठामा
फर्किएँ। यो मैले भोगेको एक प्रतिनिधि घटना मात्र हो। एकातिर राज्यका निकायहरू यस
विषयमा गम्बिर नदेखिनु र अर्को तिर पारिवारिक देखि सामाजिक हिंसा समेत तुलनात्मक
रुपमा अपाङ्गता भएकाहरू माथि बढि भएको छ। समाजमा शिक्षित भनेर चिनिने विस्व
विद्यालयबाट डिग्रि उपाधि प्राप्त गरेका व्यक्ति स्वयमले सहयोगको प्रलोभनमा पारि
अपाङ्गता भएका व्यक्तिलाई जबर्जस्तिकरणिदेखि अन्य यौन दुर्व्यवहारहरूको सिकार
बनाएको पाइन्छ। यसबाट हुइलचियरको साहायता लिनुपर्ने र दृष्टिबिहिन महिलाहरू बढि
जोखिममा देखिन्छन। कसैले नबोलि अरुको सहयोगमा नियोजित ढङ्गले गरिने यौन
दुर्व्यवहारहरू पिडितबाटै बाहिर आउन सक्दैनन। आएमा पनि पिडकलाई कार्वाहिको दायरामा
ल्याउन केहि कठिन छ किनभने उजुरि गरेतापनि सहजै दर्ता नहुने, समाजको बुझाइमा थप
अपहेलित हुनुपर्ने र न्याय पाउन नसकेमा व्यक्ति स्वयम थप मानसिक पिडाबाट ग्रसित
हुनसक्छ। विकासमा केहि फड्को मारेपनि यस्ता कुराहरूमा समाजको सोचाइमा खासै
परिवर्तन आइसकेको छैन त्यसैले घर परिवारका सदस्यहरूदेखि कार्यस्थल सम्म अपाङ्गता
भएका महिलाहरू अति जोखिम अवस्थामा छन। समाजका सांग व्यक्तिहरूको सक्रिय सहभागिता
नहुदा अपाङ्गताको क्षेत्रमा सञ्चालित बिभिन्न कार्यक्रमहरूको प्रभावकारि
कार्यन्वयन नभएर सम्बन्धित व्यक्ति तथा वर्ग सम्म पुग्न सकेका छैनन्। नेपालमा
अपाङ्गताको क्षेत्रमा देखिएका केहि प्रमुख चुनौतिहरू यस प्रकार छन्।
(१) नितिगत अस्पष्टता
(२) सक्रिय जनसहभागिताको कमि
(३) भौतिक पुर्वाधारहरूको कमि मैत्रि संरचनाको
अभाव
(४) पाठ्यक्रम तथा शैक्षिक सामाग्रिको समस्या
(५) परिक्षण मुल्याङ्कनमा कमजोरि
(६) असक्षम स्थानिय नेत्रित्व
(७) कार्यक्रमको उचित किसिमले परिचालन नहुनु
(८) सुपरिवेक्षणको पाटो कमजोर हुनु
(९) कार्यगत समन्वय नहुनु
(१०) पारदर्शिता र सुसासनको अभाव
(११) दोहोरो नितिगत प्रावधानहरू
(१२) कार्य सम्पादन मुल्याङ्कन प्रकृया व्यवहारिक
नहुनु
(१३) लक्षित वर्ग सम्म कार्यक्रमको पहुच नहुनु
(१४) कार्यक्रममा दोहोरोपन हुनु
(१५) जवाफ देहिता नहुनु
(१६) समाजमा शिक्षाको स्तर माथि उठेतापनि अपाङ्ग
र सांग प्रतिको दृष्टिकोणमा खासै परिवर्तन नहुनु
आदिलाई मुख्य चुनौतिका रुपमा लिन सकिन्छ। तिनिहरूको
समाधान तर्फ नेत्रित्व तहदेखि सम्बन्धित सरोकारवाला सबैले ध्यान दिन जरुरि छ।
नेपालमा कानुनि तहमा भएका कतिपय व्यवस्थाहरू कागजमा सिमित छन् तिनिहरूको
कार्यन्वयन मात्र गर्न सकेको खण्डमा अपाङ्गताको क्षेत्रमा केहि मात्रामा देखिने
गरि परिवर्तनको अनुभव गर्न सकिनेमा दुइ मत छैन। तर देशको अस्थिर राजनैतिक
क्रियाकलापले स्थानिय नेत्रित्व समेत असफल भएको छ। यसको असर नितिको प्रभावकारि
कार्यन्वयनमा पनि परेको देखिन्छ।
अबको आवश्यकता देशलाई चाहिने उपयोगि नागरिक
उत्पादन गरि राष्टलाई प्रगतिशिल बनाउनु हो। सबै जना राज्यको नजरमा बराबर हुन् तर
प्रत्यक वर्गका व्यक्तिहरूलाई तिनिहरूको सरोकारका विषयमा पहुच सुनिश्चित गराउने र
आवश्यकता अनुसार सेवा सुविधा दिनु पनि हरेक राज्यको प्रमुख दाइत्व हो। तसर्थ यी बिभिन्न
कुराहरू गर्दै देशलाइ गति दिनको लागि बढ्दो क्रममा रहेको अपाङ्गहरूको सङ्ख्या
नियन्त्रण गर्नको लागि उचित कदम चाल्नु जरुरि देखिन्छ। यस बाहेक सम्बन्धित सबै
अपाङ्गताको क्षेत्रका सरोकारवाला निकायहरूले निम्न कुराहरूमा विशेष जोड दिनुपर्ने
देखिन्छ।
(१) यातायात क्षेत्रलाई थप सुद्रिढ, सुरक्षित र अपाङ्ग मैत्रि बनाउनु पर्ने
(२) अब बन्ने भौतिक संरचनाहरू सबै किसिमका
अपाङ्गता भएका व्यक्ति मैत्रि हुनुपर्ने
(३) विद्यालय उमेर समुहका सबै अपाङ्गता भएका
व्यक्तिहरूलाई औपचारिक शिक्षाको दायरामा ल्याउनको लागि आवश्यक ठोस कदम चाल्नु पर्ने
(४) उनिहरूको क्षमता र सिपको आधारमा उपयुक्त कामको
अवसर दिईनुपर्ने
(५) पाठ्यक्रम र प्रश्नपत्रमा आवश्यक सुधार
गर्नुपर्ने
(६) अस्पष्ट कानुनि प्रावधानहरू सुधार गर्नुपर्ने
(७) अपाङ्गता भएका व्यक्तिहरू माथि गरिने सबै
किसिमको भेदभावलाइ उन्मुलन गर्नुपर्ने
(८) जनसहभागिता मार्फत समाजमा अपाङ्गहरूलाई
सम्मान पुर्वक जिवन बिताउन सक्ने वातावरण तयार गर्नुपर्ने
(९) सरोकारवाला सबै बिचमा राम्रो समन्वय
हुनुपर्ने
(१०) सुगम भन्दा दुर्गम क्षेत्रलाई प्राथमिकतामा
राखि कार्यक्रम परिचालन गरिनुपर्ने
(११) शिक्षाको अलावा सिपयुक्त तालिमहरू दिई सोहि
अनुसारको रोजगारिको अवसर सिर्जना हुनुपर्ने
(१२) अनौपचारिक र बाचनालय तथा श्रव्य सामग्रिहरूको
पहुचमा सुलबता हुनुपर्ने
(१३) दृष्टिबिहिन मैत्रि पाठ्यक्रम विकास
गरिनुपर्ने
(१४)अपांगहरूको आरक्षण कोटामा प्रतिस्पर्धाको पद्दतिमा
आवश्यक सुधार गरि सोहि अनुसार लोकसेवा र शिक्षक सेवा आयोगमा उनिहरूले काम गर्न
सक्ने पदहरूमा विशेष स्थान दिईनुपर्ने
(१५) कानुनमा भएका सम्पुर्ण प्रावधानहरूको
कार्यन्वयन भए नभएको प्रभावकारि अनुगमन गरिनुपर्ने
(१६)बढ्दो दुर्घटनालाइ नियन्तरण गर्न आवश्यक उपायहरू
तत्काल कडाइका साथ लागू गर्नुपर्ने
(१७) अपाङ्गता भएका व्यक्तिको हकमा लागू हुने गरि
सोको उपचार निसुल्क गर्ने व्यवस्था गरिनुपर्ने
समाजमा अन्य व्यक्तिहरू सरह अपाङ्गता भएका
व्यक्तिलाइ पनि सम्मानपुर्वक बाच्ने वातावरण समुदायका व्यक्तिको सहयोगमा बन्नसकेमा
उनिहरूले आफ्नो सिपको माध्यमबाट बाच्ने अवसर प्राप्त गर्न सक्छन्। त्यसैले अबका
सामाजिक अभियानहरू सबैलाइ सम्मान गर्ने र राम्रो कुराको कदर गर्नमा प्रेरित गर्ने
उद्यशेमा केन्द्रित हुनुपर्ने देखिन्छ। शाब्दिक रुपमा अपाङ्ग, असक्षम, फरक क्षमता
भएका, विशेष क्षमता भएका र असक्त जेसुकै भनिएतापनि उनिहरूलाई उचित शिक्षाको साथमा
उपयुक्त काममा लगाइ देशले केहि फाइदा लिनसक्नु पर्दछ। समाज र सिङ्गो देशले
उनिहरूलाई बोझको रुपमा नलिई देशका लागि योग्दान गर्ने उपयोगि सदस्य तथा व्यक्ति
बनाउन आफ्नो आफ्नो ठाँउबाट उचित कदम चाल्नु अहिलेको अपरिहार्य आवश्यकता हो। त्यसको
लागि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धिको धारा २४ को उपधारा
३ र ४ मा उल्लेखित व्यवस्था तथा नेपालको
संविधान २०७२ को धारा १८, ३१, ४२, ४३ र ५१ मा गरिएको व्यवस्थालाइ कार्यन्वयन
गर्नुपर्छ। यदि यसो गर्नसकेको खण्डमा देशले लाखौ अपाङ्गको लागि शिक्षा र सामाजिक
सुरक्षा लगायतका नाममा वर्षेनि खर्च गर्दै आएको अरबौ रकमको सदुपयोग हुनेछ। अन्यथा
देशलाई यस्ता शिर्षकमा वर्षेनि करोडौ रुपैयाको आर्थिक भार थपिने छ र नेपालको हालत
मृगौला पिडितले डाइलासिस गरिरहेको जस्तो नहोला भन्न सकिन्न।
बसन्त जैशी द्वारा लिखित यो लेख विक्रम संवत २०७३ साल पौष १ गतेको युगआह्वान दैनिक समाचारपत्रमा प्रकाशित छ ।

Comments
Post a Comment
Would you like to add something? Enter here!